ghar sansar

सुदूरपश्चिमका ‘नटवरलाल’ पक्राउ

टेकसिंह​ धामी
धनगढी । सुदूरपश्चिमका विभिन्न जिल्लाहरुका भिन्नभिन्न स्थानमा ठगी धन्दामा संलग्न रहेका ‘नटवरलाल’ युवक समातिएका छन्। बिहीबार उनलाई कैलालीस्थित धनगढीको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नो असली पहिचान लुकाएर विभिन्न व्यक्तिलाई डर त्रास र प्रलोभनमा पारेर ठगी गर्दै आएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय पदमराज भट्ट रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी वेदप्रकाश जोशीले भट्टलाई धनगढी उपमहानगरपालिका–३ बाट पक्राउ गरिएको जानकारी दिए ।

जोशीका अनुसार उनी विभिन्न प्रलोभन देखाएर महिलाहरूलाई ललाइफकाई गरेर अश्लील भिडिओ बनाएर सार्वजनिक गरिदिने धम्की दिँदै ठगी गर्दै आएका थिए ।

भट्टले विभिन्न बैंक तथा संघ सस्थाहरुको हाकिम हुँ भनेर कैलाली र कञ्चनपुर लगायतका धेरै व्यक्तिलाई ठगी गरेको प्रहरीको भनाइ छ। प्रहरीले भट्टबाट पीडित भएका व्यक्तीहरूलाई प्रमाणसहित जाहेरी लिएर आउन आग्रह गरेको छ। जाहेरी आएपछि थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।

यस्तो छ उनको आपराधिक हिस्ट्री

भट्ट पहिले सशस्त्र प्रहरी बलमा कार्यरत थिए । केही वर्ष जागिर खाएर भागेका उनलाई सुदूरपश्चिममा उनलाई कतिले भगौडा भनेर पनि चिन्छन् । उनकी पूर्व पत्नी अहिले पनि सशस्त्र प्रहरीमा कार्यरत छिन्। पहिला दुवै जना सँगै जागिर गर्थे । तर भागेपछि भट्टले ठगी गर्न सुरु गरे । त्यसको केही समयमा नै उनको आपराधिक छवि थाहा पाएपछि पहिलो पत्नीले भट्टलाई डिभोर्स दिएकी थिइन् ।

उसो त भट्टले अहिलेसम्म ४ विवाह गरेको प्रहरीको दाबी छ । तर, सबैले ठग भएको थाहा पाउने बित्तिकै सम्बन्ध विच्छेद गरिसकेको बताइन्छ। भट्टले आफूलाई कहिले नेपाल बैंकको प्रबन्धक भएको त कहिले प्रहरी अधिकारी भएको भन्दै सुदूरपश्चिमका विभित्र जिल्लाहरुमा ठगी धन्दा गर्दै आएका थिए ।

यति मात्रै होइन, उनले आफू संयुक्त राष्ट्रसंघीय कार्यक्रमको प्रमुख भनेरसमेत ठगी गर्थे । उनले यसैगरी सुदूरपश्चिममा करोडौं रकम बराबर ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले एकल तथा सोझासाझा महिलालाई घरजग्गा बिक्री गराइ दिने बहानामा नजिक ल्याउने गर्थे। त्यसपछि पैसा लिने र ठगेर भाग्ने गर्थें। त्यति मात्र होइन उनले महिलालाई अश्लील गालीगलौज समेत गर्ने गरेको बताइन्छ ।

उनले सेभ द चिल्ड्रेनको हाकिम भएको बताउँदै कैलालीको लम्कीका व्यवसायीको स्कारपियो भाडामा लगेर नै ठगी गर्थें। प्रहरीका अनुसार उनले संगठित रूपमा ५ वर्षदेखि ठगी गर्दै आएका छन् ।

यस अघि दुई वर्ष कैलाली कारागारमा ठगी मुद्दामा जेल सजाय भुक्तान गरिसकेका उनले कारागारबाटै पनि ठगी धन्दा चलाएका थिए । कारागार स्रोतका अनुसार उनले एकल महिला, डिभोर्सी महिला र क्याम्पस पढ्ने उमेरका केटीहरूलाई निशाना बनाउँथे ।

उनले जेलबाटै पनि कैलाली मसुरियाकी २७ वर्षीया युवतीलाई ठगेका थिए । उनले त्यसबेला ती महिलालाई जेलबाटै ब्ल्याकमेल गरेर जेलमा कार्यरत प्रहरीको खातामा पैसा समेत मगाएका थिए। सम्बन्ध बढाएर अश्लील भिडिओ बनाउने र ब्ल्याकमेल गर्ने उनको मुख्य धन्दा रहेको प्रहरीले जनाएको छ ।

यसरी खातामा पैसा मगाएर सहयोग गर्ने ६ प्रहरी त्यतिबेला निलम्बनमा पनि परेका थिए । त्यसपछि उनको कैद भुक्तान अवधि सकिएपछि उनी करिब ४ महिनाअघि जेलमुक्त भएका थिए ।

उनले ठगीधन्दा नछोडेर थप ठगीका गुनासा आएपछि प्रहरी फेरि उनको खोजीमा जुटेको थियो । त्यसपछि फेरि उनी आज प्रहरीको चङ्गुलमा परेका हुन् । नियन्त्रणपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...