
प्रधानमन्त्रीलाई काँग्रेसले पनि विश्वासको मत दिएपछि एमाले केन्द्रीय सदस्य रानाले सोधे तीन प्रश्न, भने– अढाई वर्षपछि एमालेलाई सत्तारोहणबाट ब्लक गर्न त खोजिएको होइन

महेन्द्रनगर । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् कञ्चनपुर सह इन्चार्ज कृपाराम रानाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि काँग्रेसप्रति तीन आशंकायुक्त प्रश्न राखेका छन् । उनले प्रधानमन्त्रीले विश्वासको मत पाएको ८ घण्टापछि सामाजिक सञ्जाल फेसबुकबाट ती प्रश्न राखेका छन् ।
रानाले काँग्रेसलाई सरकारमा जाने कि नजाने, सरकारमा सहभागी भएर संवैधानिक नियुक्तिमा भाग खोज्ने र अढाई वर्षपछि एमालेको सत्तारोहण रोक्ने भन्ने आशंका सहितका प्रश्न काँग्रेसलाई सोधेका छन् ।

एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्रीका आधा आधा कार्यकाल गर्ने सहमति गरी दाहाल पुस १० गते प्रधानमन्त्री भएका थिए । प्रधानमन्त्री दाहाललाई प्रमुख प्रतिपक्षी दल काँग्रेसले समेत विश्वास मत दिएपछि एमाले रानाले अढाई वर्षपछि एमालेको सत्तारोहण रोक्ने चालबाजी हुन सक्ने आशंका गरेका छन् ।
प्रधानमन्त्री दाहालले झण्डै शत प्रतिशत समर्थन पाएको घट्ना संसदीय इतिहासमा विरलै भएको उल्लेख गर्दै उनले पश्चिमाहरुले नयाँ ढङ्गले व्याख्या गर्नु पर्ने देखिएको उल्लेख गरेका छन् ।
उनले प्रतिपक्षी काँग्रेसले विश्वासको मत दिएर संसदीय व्यवस्थालाइै तिलाञ्जली दिएको भन्ने आशंका पनि गरेका छन् ।
