महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सभामा शनिबार सभामुख निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेपछि सुदूरपश्चिम प्रदेश सरकार संकटमा पर्ने आशंका गर्न थालिएका छन् । नागरिक उन्मुक्तिले सभामुख निर्वाचनझै तटस्थ बसेपछि मुख्यमन्त्री राजेन्द्र सिह रावललाई विश्वास मत नपुगे उनी पदमुक्त हुने सम्भावना बढेको हो ।
नागरिक उन्मुक्तिको समर्थनमा पाँच दिन अघि मुख्यमन्त्री भएका रावलले ३० दिनभित्र विश्वासको मत लिन पर्ने छ । नागरिक उन्मुक्ति पार्टीका ७ साँसद तटस्थ बस्दा रावललाई विश्वासको मत अपुग हुने देखिएको छ । उप सभामुख पाउने सहमतिमा नागरिक उन्मुक्तिले मुख्यमन्त्री रावललाई समर्थन गरेको थियो ।
एमाले संसदीय दलका नेता रावल भएपछि काँग्रेस र एकीकृत समाजवादीले नागरिक उन्मुुक्तिलाई प्रभावमा पारेर सभामुख निर्वाचन तटस्थ बस्ने अवस्थासम्म पुगाएका छन् । काँग्रेस समाजवादी दुबैले उन्मुक्तिलाई मुख्यमन्त्री सहित मन्त्री दिने आश्वासन दिएका छन् । मुख्यमन्त्री सहित मन्त्री पाउने आशमा नागरिक उन्मुक्ति आन्तरिक विवादमा फसेर सभामुख निर्वाचनमा शनिबार तटस्थ बसेको छ ।
शनिबार सुदूरपश्चिम प्रदेश सभामा समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्री रावलको राजीनामा मागेर नयाँ सत्ता समीकरण बनाउन लागेको प्रष्ट संकेत गरेका छन् । एमाले नेतृत्वको सरकार रोक्न सुरुदेखि लागेका सोडारी मुख्यमन्त्रीको शपथपछि थप सक्रिय भएका छन् ।
एमाले छाडेर समाजवादी भएका सोडारी र मुख्यमन्त्री रावलबीच एमाले हुँदादेखि तिक्ततापूर्ण सम्बन्ध छ । एमाले हुँदै तत्कालिन नेकपामा फरक लाइनका यी दुई नेतापछि नेकपाको अन्तर संघर्ष चर्केपछि व्यक्तिगत सम्बन्ध झन कटुतापूर्ण बनेको थियो ।
नेकपाको अन्तर संघर्ष चर्किएपछि तत्कालिन मन्त्री सोडारीसित रावलको उनको कार्यकक्षमा विवाद भएर हातपातसम्म भएको थियो । शनिबारको प्रदेश सभा बैठकमा सोडारीले त्यहीं विवादको झल्को दिने गरी मुख्यमन्त्री रावलको राजीनासम्म मागेर रावलप्रति व्यक्तिगत असन्तुष्टि पोखेका छन् ।
नागरिकभित्र पनि दुई धार छ। लक्ष्मणकिशोर चौधरी र रेशम चौधरीनिकट मानिने संसदीय दलका नेता रामेश्वर चौधरी अलग–अलग समूहको नेतृत्व गरिरहेका छन् । यी दुई समूहबीच सहमति नभएर पार्टी विभाजनको अवस्था आउनेसम्म का आँकलन गरिएका छन् ।
५३ सदस्यीय प्रदेश सभामा नागरिक उन्मुक्तिका ७ सदस्य निर्णायक छन् । उन्मुक्तिको साथ नदिए एमाले र काँग्रेस दुबैलाई सरकार बनाउन नसक्ने अवस्था छ ।
प्रदेश सभाको सबैभन्दा ठूलो दल काँग्रेस पनि समाजवादीको सहयोगमा रावल नेतृत्वको सरकार ढाल्न सक्रिय रुपमा लागेको छ । काँग्रेसले सभामुखसित मिलेमतो गरी बैठक समेत अनिश्चितकाल स्थगित गराएको छ । काँग्रेससित सल्लाहपछि सभामुख शिवराज भट्ट सुरक्षाकर्मी र गाडी प्रदेश सभामा छाडेर एकाएक सम्पर्क विहीन भएका छन् ।
सुदूरपश्चिममा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी सत्ता पक्षमा २९ सांसद छन् । अर्कोतिर कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र १ स्वतन्त्र सांसद छन् । समाजवादीबाट वागी भएर चुनाव जितेकाले जोशी एमाले नेतृत्वको गठबन्धनमा आउन सम्भावा छैन ।