

महेन्द्रनगर । वडा अध्यक्ष नेतृत्वमा कार्यदल गठन गरी जग्गा खोजेको भीमदत्त नगरपालिका छाडा पशु चौपाया व्यवस्थापनका लागि कानुनी र सामुदायिक समस्याले अप्ठेरोमा पारेको छ । भीमदत्त नगरपालिकाले गत महिना वडा अध्यक्ष राम बहादुर बोहराको नेतृत्वमा चौपाया व्यवस्थापनका लागि जग्गा खोजी गर्न कार्यदल गठन गरेको थियो ।
बोहरा नेतृत्वको कार्यदलले नगरपालिकाका विभिन्न स्थानमा जग्गा अध्ययन गरी मेयर पदम बोगटीलाई केही दिन अघि प्रतिवेदन बुझाएको थियो । मेयर बोगटीलाई प्रतिवेदन बुझाएको केही दिनपछि सर्वपक्षीय बैठकमा बुधबार भीमदत्तले चौपाया व्यवस्थापनमा देखिएका समस्या राखेका हो । आफ्नै स्वामित्वको जग्गामा पनि चौपाया व्यवस्थापन गर्न नसकिने अवस्थालाई नगरपालिकाले बैठकमा राखेको छ ।

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले सर्वपक्षीय बैठकमा छाडा पशु चौपाया व्यवस्थापनका लागि कानुनी र सामुदायिक समस्या देखिएको उल्लेख गरे ।
‘ब्रह्मदेबमा नगरपालिकाले तारबार गरी राखेको छ जमिन छ, त्यहाँ चौपाया राख्न सकिन्छ, तर स्थानीयले विरोध गरेका छन्, अर्को हल्दुखाल र तिलकपुरमा पर्ने सामुदायिक वन क्षेत्र खाली छ, त्यहाँ कानुनी रुपमा समस्या छ’ उनले भने,‘यस हिसाबले कतै कानुनंी समस्या छन्, कतै समुदायका समस्या छन् ।’
भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र जग्गा खोजेर मेयरलाई प्रतिवेदन बुझाउने वडा अध्यक्ष बोहरा आफैं बैठकमा सहभागी थिए । मेयर बोगटीले प्रवक्ता खड्कालाई छाडा पशु चौपाया व्यवस्थापनका लागि गरिएका कार्य सम्बन्धी जानकारी गराउन निर्देशन दिएपछि उनले आफ्नो धारणा राखेका थिए ।
प्रवक्ता खड्का अघि कार्य दलका संयोजक बोहराले बैठकमा चौपाया व्यवस्थापनका लागि खोजिएको जग्गा सम्बन्धी जानकारी गराउँदै बैठकबाटै स्थान छनौटको निर्णय हुनु पर्ने धारणा राखेका थिए ।
‘कार्यदलका हामी ६ जनाले जग्गा खोजेर आएका छौ, लिजमा लिएर चौपायालाई हुल्ने कार्य राम्रो होइन’ उनले भने,‘आज जिल्लाका सबै महत्वपूर्ण मान्छे यहीं छौ, आज यहीं बैठकबाट यो स्थानमा व्यवस्थापन गर्छौ भनेर निर्णय गरौ ।’
बोहराको नेतृत्वमा अन्य ५ वडाका अध्यक्ष सहितको समितिले ब्रह्मदेब सहित नगरपालिकाका विभिन्न क्षेत्रमा छापा पशु चौपायाका लागि जग्गा खोजी अध्ययन तयार गरेको छ ।
कार्यदलका संयोजक बोहराका अनुसार ब्रह्मदेबस्थित महाकाली गौशाला स्तरोन्नति गरी थप चौपाया राख्न सकिने सुझाव दिएको छ । ब्रह्मदेबमा व्यवसायिक गाई पालनका लागि अघिल्लो मेयरको कार्यकालमा २६ लाखमा गौशाला निर्माण गरि।एको थियो ।
कार्यदलको प्रतिवेदनमा भीनपा ८ र १० को सीमा क्षेत्र, ९ को जमुनाभाडी, ब्रह्मदेब कालिका मन्दिर नजिकको क्षेत्र, वडा नं. ३ र ७ को सामुदायिक वन क्षेत्र, वडा नंं. १३ को पार्क नजिक र वडा नं. १९ मा लिजमा लिइएको जग्गामा पनि गौशाला बनाएर चौपाया व्यवस्थापन गर्न सकिने उल्लेख गरिएको छ ।

‘भीनपा १३ को पार्क नजिक महाकाली नदीको बगर क्षेत्र खाली छ, त्यहाँ जिल्लाभरका गाई गोरु पनि व्यवस्थापन गर्न सकिन्छ’ कार्यदल संयोजक बोहराले भने,‘बागफाँटामा लिजमा लिइएको जग्गालाई फेरि लिजमा लिएर पनि व्यवस्थापन गर्न सकिन्छ ।’
भीमदत्तले अघिल्लो कार्यकालमा बागफाँटामा जमिन भाडामा लिएर गौशाला बनाएर चौपाया व्यवस्थापन गरेको थियो । गत असारमा जग्गा सम्बन्धी सम्झौताको म्याद सकिएको छ । नगरपालिकाले अहिलेसम्म जग्गा सम्झौताको म्याद थपेको छैन ।
भीमदत्त नगरपालिकाकामा अघिल्लो कार्यकालमा चौपाया व्यवस्थापनका लागि कानुन निर्माण र भौतिक पूर्वाधार निर्माण गरिएका छन् । छाडा पशु चौपायालाई गौशालामा लगेर व्यवस्थापन गर्न अघि कानमा ट्याग लगाइएको थियो । अहिले ब्रह्मदेब बाहेक बागफाँटाको गौशाला अलपत्र परेको छ ।
भीमदत्तको नयाँ नेतृत्व बागफाँटाको गौशाला सञ्चालन र कानुन कार्यान्वयनमा पछि परेको छ । स्थानीय तह निर्वाचनपछि चौपायाको दिगो व्यवस्थापनको आश्वासन दिएर ८ महिनासम्म काम हुन नसकेपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । केही दिन अघि स्थानीयले नगरपालिकाका कार्यालयभित्र हुल्न छाडा चौपाया कार्यालयसम्म पुगाएका छन् । नगरपालिकाले कार्यालयको प्रवेशद्वारमा प्रहरी तैनाथ गरी उनीहरुलाई चौपाया हुल्न रोकेको थियो ।
कार्यालयसम्म चौपाया ल्याएपछि भीमदत्तका मेयर बोगटीले सात दिनभित्र व्यवस्थापन गर्ने आश्वासन दिएर उनीहरुलाई फर्काएका थिए । त्यसपछि जग्गा खोजीका लागि घुमेका उनी व्यवस्थापनका लागि जिल्ला समन्वय समितिले बुधबार गरेको बैठकमा सहभागी भएका छन् ।
स्थानीय तह निर्वाचनमा मेयर बोगटीले छाडा चौपाया व्यवस्थापनलाई प्रमुख चुनावी मुद्दा बनाएका थिए । त्यस अनुसार नगर सभाबाट नीति पारित गरेका उनी बजेट विनियोजनमा भने पछि परेका छन् ।
भीमदत्तका मेयर बोगटी र उप मेयर निलम लेखक जोशी दुबै चौपाया व्यवस्थापनको जिम्मेवारी लिन पछि हटेका छन् । चौपाया व्यवस्थापन गर्न नसकेको दोषबाट उम्किन उनीहरु दुबैले वडा अध्यक्षलाई जिम्मेवारीलाई दिएका छन् । चौपाया व्यवस्थापनको दोषबाट बच्न वडा अध्यक्ष बोहराको नेतृत्वमा कार्यदल गठन गरिएको थियो ।
अघिल्लो कार्यकालमा तत्कालिन उप मेयर सुशिला चन्द सिहले चौपाया व्यवस्थापनको जिम्मेवारी लिएकी थिइन् । अहिले वडा अध्यक्षलाई कार्य दलको जिम्मेवारी दिएर मेयर र उप मेयर दुबै पछि हटेका छन् ।
बेदकोट नगरपालिकामा भने उप मेयर तुलसी जोशीले चौपाया व्यवस्थापनको नेतृत्व गरेकी छन् । बेदकोटका मेयर भोजराज बोहरालृे उप मेयरको नेतृत्वमा कार्यदल गठन गरी चौपाया व्यवस्थापन प्रक्रिया अघि बढाएका हुन् ।
‘भीमदत्तका मेयर उप मेयर भाषण गर्ने, घुमघाम गर्ने, विभिन्न कार्यक्रममा सहभागी हुने कुरामा एकदमै सक्रिय देखिनु भाको छ, यो छाडा चौपाया वडा अध्यक्षको टाउको हालिएको छ, यसको नियत सबैलाई थाह नै छ’ कार्यदलका एक सदस्यले भने,‘मेयर उप मेयरले नेतृत्वले नलिएसम्म कार्यदलले केही गर्न सक्न अवस्था छैन ।’
भीमदत्त नगरपालिकाको उप मेयरमा चुनाव लडेका नेकपा माओवादी केन्द्रका नेता कृष्णदत्त जोशी बोक्सरले जनप्रतिनिधिले वाचा अनुसार चौपाया व्यवस्थापन समस्या समाधान गर्नु पर्ने बताए ।
‘चुनाव लड्दा एक नम्बरमा राखेर भोट माग्ने, अनि चुनाव जित्ने, जितेपछि समस्या भुल्ने कार्य कदापि सह्य हुँदैन’ उनले भने,‘नगरपालिका यो समस्याप्रति गम्भीर भएन भने अवस्था अप्ठेरो हुन सक्छ, त्यहीं भएर अहिले नै गम्भीर भएर हल गर्न आग्रह गर्छौ ।’
