
सत्तारुढ गठबन्धन भत्किने सम्भावना नभएको पूर्व प्रधानमन्त्री खनालको दावी, भन्छन्–आवश्यकता अनुसार राष्ट्रपतिमा उम्मेदवार उठाउँछौ

महेन्द्रनगर । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्तारुढ गठबन्धन भत्किने कुनै संभावना नभएको बताएका छन् । समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले अहिलेको एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेको बताएका हुन् ।
‘राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण विषय हो। यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दुरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुगाउनुपर्छ,’ खनालले भने ।

उनले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने बताए । मंगलवार खनाल पार्टीको प्रदेश स्तरीय प्रशिक्षणका लागि सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढी पुगेका हुन् ।
सोमबारदेखि सुरु भएको प्रशिक्षण बुधबार सकिनेछ । सोमबार पूर्व प्रधानमन्त्री तथा समाजवादीका अध्यक्ष माधव नेपाल भने प्रशिक्षण दिएर काठमाडौं फर्किसकेका छन् । पार्टीका केन्द्रिय कमिटी सदस्य र ९ ओटै जिल्ला कमिटीका अध्यक्ष र सचीवलाई प्रशिक्षण दिइदै छ ।
