
दैजी छेला सम्पर्क कार्यालय उद्घाटन गर्दै मन्त्री भण्डारीले भने– आगामी बजेटमा सुदूरपश्चिमका सबै विकास योजना समावेश गर्न चाहन्छौ

महेन्द्रनगर । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आगामी बजेटमा सुदूरपश्चिमको विकासका सबै योजना समावेश गर्ने चाहना राखिएको बताएका छन् । बेदकोट नगरपालिका २ जडेपानीमा दैजी छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले त्यसका लागि सुदूरपश्चिमका सबै वासिन्दाको साथ चाहिएको उल्लेख गरे ।
‘महाकाली कोरिडोर कोरिडोर मात्रै नभएर त्रिदेशीय नाका हो,’ चालु आर्थिक वर्षमा कोरिडोरका लागि रातो किताबमा बजेट पनि छैन’ मन्त्री भण्डारीले भने,‘तपाई सबैको साथ पाउने हो भने आगामी वर्षको बजेटमा सुदूरपश्चिमको विकासका सबै योजना समावेश गर्न चाहन्छौ ।’

सरकारले बनाएको एकीकृत कार्य योजनामा औद्योगिक विकासलाई प्राथमिकता दिइएको उल्लेख गर्दै दैजी छेला औद्योगिक क्षेत्रलाई उच्च प्राथमिकता दिएर सम्पर्क कार्यालय खोलिएको बताए ।
दोधारा चाँदनीको सुख्खा बन्दरगाहका लागि भारतसित समझदारी गरी तीन वर्षमा पूरा हुने गरी अघि बढाइने मन्त्री भण्डारीले दावी गरे ।
‘दोधारा चाँदनीको ड्रापोर्ट पनि चाँडै कामकाज सुरु गर्छौ, त्यसमा थोरै प्रक्रिया बाँकी छ’ उनले भने,‘यसलाई पनि भारतसित एमओयु गरी तीन वर्षभित्र पूरा गर्छौ ।’
मन्त्री भण्डारीले औद्योगिक क्षेत्रमा कानुनी र प्राविधिक अल्झन नभएको उल्लेख गर्दै भोगाधिकार दिएर ठेक्का प्रक्रिया अघि बढाइने बताए । विशेष आर्थिक क्षेत्र(सेज) सञ्चालन प्रक्रिया थालिने मन्त्री भण्डारीको भनाई थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले छेला औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह लगायतको विकासले सुदूरपश्चिमको मात्रै नभएर देशको आर्थिक वृद्धि हुने विश्वास व्यक्त गरे ।
उनले सम्पर्क कार्यालय कार्यालयमा मात्रै सीमित नभएर औद्योगिक क्षेत्र सञ्चालनका काम दु्रत रुपमा अघि बढ्नु पर्ने उल्लेख गर्दै नेपालगञ्जबाट कर्मचारी परिचालन नगरी सम्पर्क कार्यालय राखेर काम गर्नु पर्ने बताए ।
निवर्तमान मुख्यमन्त्री रावलले दैजी छेला औद्योगिक क्षेत्र घोषणा गरिएपछि रोक्ने प्रयास गरिएको उल्लेख गर्दैै सम्पर्क कार्यालय उद्घाटन भएकोमा खुसी व्यक्त गरे ।
‘२०५१ मा हामीले औद्योगिक क्षेत्र बनाउँछौ भन्दा अवरोध गर्न खोजियो, यसमा मेडिकल कलेज चलाउँछौ भनियो’ उनले भने,‘पछि मेडिकल कलेज नहुने भएपछि जग्गा हेरिएन ।’
एमालेका पूर्व साँसद नर बहादुर धामीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि औद्योगिक क्षेत्र सञ्चालनको काम अपेक्षित रुपमा अघि बढ्न नसकेको बताए ।
‘२०७७ फागुनमा शिलान्यास भयो, इआए भएको थियो, रुअ छपान कटान गरी अघि बढाउनु पथ्र्यो, बिचमा सरकार ढलेपछि निरन्तरता पाएन’ उनले भने,‘अब सम्पर्क कार्यालय खुलेको छ, तीव्र रुपमा अघि बढ्छ ।’
संविधान सभा सदस्य कृपाराम रानाले दैजी छेला औद्योगिक क्षेत्र बेदकोट, कञ्चनपुर र सुदूरपश्चिमका लागि मात्रै नभएर देशको विकास र समृद्धिका लागि महत्वपूर्ण भएको बताए ।
उनले औद्योगिक क्षेत्र शिलान्यास भएर पनि सञ्चालन कार्य अपेक्षित रुपमा अघि बढ्न नसकेकोमा दुःख व्यक्त गर्र्दै सम्पर्क कार्यालय खोलिएपछि सञ्चालन कार्य तीव्र रुपमा अघि बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले मन्त्री भण्डारीले एक हप्तामा दुई पटक आफैं आएर सक्रियता देखाएर सम्पर्क कार्यालय खोलिएको उल्लेख गर्दै यसले औद्योगिक क्षेत्रको सञ्चालन र विकासमा टेवा पुग्ने बताए ।
बेदकोट नगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर बहादुर चन्दले सम्पर्क कार्यालय खोलिएको गतिझै सञ्चालनका काम तीव्र हुनु पर्नेमा जोड दिए ।
बेदकोट नगरपालिका २ का वडा अध्यक्ष नरेश बहादुर सिहले स्वागत मन्तव्य राखेको कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, बेदकोटका निवर्तमान मेयर अशोक कुमार चन्द, कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी, बेदकोटका उप मेयर तुलसी जोशी, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, एमाले नेता बचन बहादुर सिह, महेश पन्त लगायतका सहभागी भएका छन् ।
