ghar sansar

बेलौरी बजारमा ड्रेन निर्माण अलपत्र, ठेकेदार फरार, नगरपालिका निरीह

महेन्द्रनगर । बेलौरी बजारमा निर्माणाधीन ड्रेन अलपत्र पारेर महिनौँदेखि ठेकेदार गुमनाम भएका छन् । बेलौरी बजारमा अवस्थित भीमदत्त चोकदेखि संविधान चोकसम्म सडकको दुवैतिर गरी जम्मा १ हजार ३ सय मिटर लम्बाइको ड्रेन निर्माणका लागि आर्थिक वर्ष २०७७÷२०७८ मा बेलौरी नगरपालिकाले ललितपुरको प्यारागन कन्स्ट्रक्सन प्रा.लि.कम्पनीसँग ९६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

सुरुमा ३ महिनाको म्याद राखी सम्झौता गरिए पनि त्यसयता ६–६ महिनाको म्याद थप्दै जाँदा समेत हालसम्म निर्माण कम्पनीले काम सम्पन्न गरेको छैन । बरु निर्माण कम्पनीका प्रतिनिधि ड्रेन निर्माणको काम अधुरै छोडेर बेपत्ता हुँदा उक्त कार्य अलपत्र परेको छ ।

mantra hos123

निर्माण कम्पनीले समयमै काम नगर्दा बजार क्षेत्र कुरूप मात्रै भएको छैन, उक्त गल्लीको व्यापार व्यवसाय समेत एक वर्षयता प्रायः ठप्प छ । निर्माण कम्पनी र बेलौरी नगरपालिकाको चरम लापरबाहीले काममा ढिलासुस्ती हुँदा बेलौरी बजारवासी आजित भइसकेका छन् ।

ड्रेनको निकास समेत नहुँदा ड्रेन निर्माणको औचित्य माथि नै प्रश्न उठ्ने गरेको छ । बजार क्षेत्रमा निर्माण सामग्री यत्रतत्र छोडिएको छ । ड्रेन निर्माण कार्य पनि अलपत्र हुँदा दुर्घटनाको जोखिम उत्तिकै बढेको छ । ड्रेन निर्माण स्थलमा पर्ने विद्युतीय पोलहरू समेत हटाउन सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।

वर्षातको पानी निकासका लागि निर्माण भइरहेको ड्रेन बन्न नपाउँदै केही बजारवासीले ढल समेत मिसाउन थालेका छन् । निर्माणको जिम्मेवारी दिने बेलौरी नगरपालिका कार्यालय भने मुखदर्शक बनेको छ । आमसञ्चारमाध्यम, बजारका व्यवसायी तथा स्थानीय नागरिकहरूले पटक पटक ध्यानाकर्षण गराउँदा समेत नगरपालिकाले हालसम्म कुनै कदम चालेको देखिँदैन ।

दुई महिना अघि नै निर्माण कम्पनीका प्रतिनिधिहरू काम अलपत्र छाडेर सम्पर्कविहीन भएको अवस्थामा नगरपालिकाले के गरिरहेको छ भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले नगरपालिकाले ठेकेदारलाई ताकेता गरिरहेको र एक महिनाभित्रै काममा नफर्किए कारबाही प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका थिए । तर हालसम्म कुनै सुरसार देखिँदैन ।

दुई हप्ता अगाडि पुनः पाँच जना सञ्चारकर्मीहरूको टोलीले सोही विषयमा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विकसँग जिज्ञासा राख्दा उनले पनि निर्माण कम्पनीका प्रतिनिधिलाई तुरुन्तै झिकाई काम गराउने भने पनि हालसम्म कुनै उपलब्धि देखिँदैन ।

ठेकेदार सम्पर्कविहीन भएको कुरा भने नगरपालिकाले स्वीकारेको छैन । ठेकेदारसँग बेलाबेलामा कुराकानी हुने गरेको र उनी काठमाडौँमा रहेकोले आठ दश दिनमा बेलौरी फर्की काम पुनः सुरु गर्ने कुरा गरेको प्रमुख प्रशासकीय अधिकृत विकको भनाइ छ ।

अन्ततः जसरी पनि कारबाही नै गर्नुपर्ने स्थिति आइहालेमा बाहेक सितिमिति मानवीय हिसाबले पनि नगरपालिकाले तत्काल कारबाही नै गर्न नसक्ने उनको भनाइ छ । आइहाल्छ, गरिहाल्छ भन्ने मनसाय राखी नगरपालिकाले यो विषयलाई गम्भीर रूपमा नलिएको देखिन्छ ।

दक्षिणी क्षेत्रकै केन्द्रबिन्दु, ऐतिहासिक ठाउँ, प्रस्तावित नमुना सहरका रूपमा रहेको बेलौरी बजारको दिगो व्यवस्थापन त परै जाओस्, आफैँले ठेक्का लगाएको योजना अलपत्र पर्दा समेत नगरपालिका कार्यालयले देखाएको उदासीनताको चौतर्फी आलोचना हुने गरेको छ ।

सडक किनारमा ड्रेन नहुँदा वर्षातको समयमा आएको पानीले बजार क्षेत्र डुबानमा पर्ने समस्या समाधानका लागि ड्रेन निर्माण गर्न लागिएको भए पनि उक्त ड्रेन निकासको अन्तिम बिन्दु भने बेलौरी नगरपालिकाले अझै पहिल्याउन सकेको छैन । 

Himal dental
सम्बन्धित
Loading...