महेन्द्रनगर । डडेल्धुराको पर्शुराम नगरपालिका–४ कटालस्थित भागेश्वर माध्यमिक विद्यालयमा आयोजित अध्यक्ष कप खुल्ला महिला भलिबल प्रतियोगितामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका प्रथम भएको छ ।
९ वटा महिला भलिबल टिमको प्रतिस्पर्धा रहेको प्रतियोगितामा द्वितीय स्थान बैतडी भलिबल संघ र तृतीय स्थान कैलालीको सृजनशील युवा क्लब (सिवाईसी) अत्तरियाले हासिल गरेको छ ।
भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार १११ नगद, द्वीतिय हुनेलाई २५ हजार १११ र तृतीय हुनेलाई १३ हजार १११ नगद पुरस्कार सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिएको शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महराले जानकारी दिए ।
प्रतियोगितमा प्रथम हुने शुक्लाफाँटा नगरपालिकाको महिला टिमले बैतडी खेलकुद संघको टिमलाई फाइनल खेलमा ३–१ को सेटमा पराजित गरेको छ ।
शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख महराले खेलकुदका भौतिक पूर्वाधार, खेलमैदान, खेलकुद सामग्री पर्याप्त नभए पनि नगरपालिकाका खेलाडीहरुले प्रतियोगितमा देखाएको उच्च प्रदर्शनको प्रशंसा गरेका छन् ।
‘आउँदो आवमा खेलकुदका लागि भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गर्छौं‚’ उनले भने, ‘खेलकुद सामग्री र खेलमैदान निर्माणको कार्यलाई प्राथमिकतामा राख्छौं ।’
खेलकुद क्षेत्रको विकासका लागि नगरस्तरीय कभर्ड हल निर्माण गर्न ३ करोड ४६ लाखको ठेक्का सम्झौता अगाडि बढाइएको उनले जानकारी दिए ।