ghar sansar

बेदकोटमा जय शंकर सामुदायिक वनमा अलपत्र पारिएको ५० शैय्याको अस्पताल सामादैजी सारियो, शिव प्राविको तीन बिगाहा जमिनमा बन्ने

महेन्द्रनगर । बेदकोट नगरपालिकास्थित जयशंकर सामुदायिक वनमा बनाउन थालिएको ५० शैय्याको अस्पताल सामादैजी सारिएको छ । वन सम्बन्धि कानुनी अवरोधले सामादैजीस्थित शिव प्राथमिक विद्यालयको जमिनमा अस्पताल बनाउने गरी प्रक्रिया अघि बढेको छ । विद्यालयको तीन बिगाहा जमिनमा अस्पताल बनाउन लागिएको हो ।

संघ सरकारले बनाउने ५० शैय्याको अस्पताल यस अघि जयशंकर सामुदायिक वनमा सुरु गरिएको थियो । वन ऐन अनुसार कानुनी प्रक्रिया पूरा नभएर अस्पताल निर्माण अघि बढेपछि वन कार्यालयले रोकेको थियो । नगरपालिकाले अस्पतालका लागि झण्डै एक करोड खर्च गरी सामुदायिक वनको पक्की पर्खाल बनाएको थियो ।

अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) यस अघि नै बनि सकेको छ । डीपिआर तयार भएपछि अघिल्लो कार्यकालमा अस्पतालका लागि बजेट विनियोजन भएर टेण्डर समेत आव्हान गरिएको थियो । सरकारले दिएको बजेट भन्दा बढीको टेण्डर खोलिएपछि अस्पताल बनाउन प्रक्रिया रोकिनु पुगेको थियो ।

बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले विशेषज्ञ सेवा सहितका कोभिड लगायतका महामारी नियन्त्रणलाई सहयोग पुग्ने गरी ५० शैय्याको अस्पताल बनाउन थालिएको बताए । उनले वन ऐनका कारण वन क्षेत्रमा अस्पताल बनाउन सकिने अवस्था नभएको बताए । 

‘अहिले बेदकोटमा १५ शैय्याको नगर अस्पताल निर्माण सुरु भएको छ, त्योसंगै ५० शैय्याको अस्पतालका लागि प्रक्रिया अघि बढाएका छौ’ उनले भने,‘भोलि बेदकोट, भीमदत्त, दोधारा चाँदनी महानगर बन्न सक्छन्, त्यसका लागि पनि यो अस्पताल पूर्वाधार बन्छ ।’

भीमदत्त, बेदकोट र दोधारा चाँदनीलाई महानगरपालिका बनाउन यस अघि छलफल भई सकेका छन् । अघिल्लो स्थानीय तह निर्वाचन अघि पनि भीमदत्त र बेदकोटलाई मिलाएर उप महानगर बनाउने गरी छलफल भएको थियो ।

अहिले बेदकोट नगरपालिका ३ स्थित दैजीमा १५ शैय्याको नगर अस्पताल बनाउने कार्य सुरु गरिएको छ । अस्पतालका लागि शारदा माध्यमिक विद्यालयले जग्गा उपब्ध गराएको छ ।

बेदकोटमा अहिले सुडा र दैजीमा स्वास्थ्य चौकी सञ्चालना छन् । यी दुबैमा बर्थिङ्ग सेन्ट छन् । नगरपालिकाका सबै १० वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...