महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ११ मा सोमबार एक दिने उन्नत कृषि मेला २०७९ को आयोजना गरिएको छ । मेलामा वडाका किसानले उत्पादन गरेका कृषि उत्पादनको प्रदर्शन गरिएको छ । मेलाको नगर प्रमुख रण बहादुर महराले उद्घाटन गरेका छन ।
मेलाको उद्घाटन गर्दै उनले कृषिलाई पहिलो प्राथमिकतामा राखेर प्रत्येक वडामा कृषि उत्पादनको संभाव्यताको अध्ययन गरी प्याकेजका रुपमा कार्यक्रम सञ्चालन गरिने बताए । कृषि क्षेत्रको बृहतर विकासका लागि कार्यक्रम सञ्चालन गरी बैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्वदेशमै रोजगारका अवसर प्रदान गर्न प्रतिवद्ध रहेको उनले बताए ।
शित भण्डार निर्माणका लागि डिपिआरनिर्माणको कार्य अगाडी बढाएका छौं उनले भने डिपिआर निर्माणका लागि रु ३० लाख बजेट विनियोजन गरिएको छ, शित भण्डार निर्माणका लागि जग्गा प्राप्तीका लागि सामुदायिक वनको समर्थन पत्र उपलव्ध भएकाले कार्य चाँडै अगाडी बढनेमा ढुक्क छौं ।
नगरपालिकाका प्रमुख प्रशासयिक अधिकृत टिकेन्द्रराज भट्टले गत आबको भन्दा चालु आबमा कृषि क्षेत्रका लागि बजेटमा बृद्धि गरिएको बताए ।
गत आवमा रु १० लाख बजेट रहेकोमा चालु आबमा रु ५० लाख बजेट रहेको जानकारी उनले दिए । नगरका बासिन्दाको मुख्य आयश्रोत कृषि रहेको चर्चा गर्दै उनले कृषि क्षेत्रको आधुनिकिरण हुन नसक्दा उत्पादकत्वमा बढोत्तरी हुन नसकेको बताए ।
चालु आबमा नगरपालिकाका १२ वटै वडाको प्रोफाईल तयार गरी सोही अनुसार कृषि क्षेत्रको विकास गर्नका लागि योजना अघि सारिएको उनले बताए । उनका अनुसार प्रोफाईलमा घरघुरी, पशुपालन, कृषि, माटो परीक्षण लगायतका कार्यक्रमलाई समेटिने छन । वडाको माटो सुहाउदो कृषिको योजना बनाईने उनको भनाई रहेको छ ।
कार्यक्रमका सभापती वडा अध्यक्ष शेर बहादुर साउदले किसानको हौसला बढाउनका लागि मेलाको आयोजना गरिएको बताए । वडाका किसानलाई व्यवसायीक खेती तर्फ डोरयाउनका लागि मेलाको आयोजना गरी प्रविधि, उत्पादन र बालि विविधिकरण बारे जानकारी दिनका लागि मेला सहयोगी रहेको उनले बताए ।
नेपाली काँग्रेसका नेता टेक बहादुर भण्डारीले कृषिमा रोजगारी सृजना गर्नका लागि माटो सुहाउदो बाली लगाउनका लागि नगरपालिकाले योजना बनाई अनुदानका कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए ।
नेकपा(एमाले)का रन सिंह सुनारले नगरपालिकामा बसोवास गर्ने ९५ प्रतिशत बढी व्यक्तिको मुख्य पेशा कृषि भएपनि थोरै बजेट मात्रै विनियोजन हुने गरेको बताए ।
नेकपा(माओवादी केन्द्र)का अमर बहादुर ऐरले कृषि क्षेत्रको बजेटमा बृद्धि गरी किसानलाई समृद्ध बनाउनका लागि नगरपालिकाले किसान केन्द्रित बजेट ल्याउनु पर्ने बताए । मेला उद्घटन कार्यक्रमको सञ्चालन आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख कृष्णराज जोशीले गरेका थिए ।
कृषि मेलामा किसानलाई वडाले नगद रकम र प्रमात्र पत्र सहित पुरुस्कृत गरेको छ । व्यवसायीक कृषि कार्यमा लागेर तरकारी खेतमा संलग्न मेलामा कृषि प्रदर्शनीमा प्रथम हुने किसान डम्बर बहादुर बिष्टलाईलाई रु पाँच हजार सहित प्रमाण पत्रले पुरुस्कृत गरिएको छ ।
द्धितिय हुने किसान नारायण राना, तृतीय हुने किसान कलावती देवी कुवँरलाई समेत नगद रकम र प्रमाण पत्र प्रदान गरिएको छ । यसैगरी सन्त्वना पुरुस्कार प्रेम सिंह ऐर, मञ्जु भट्ट, सावित्री राना, दिपक ऐर, शेर बहादुर शाही, झुसे बिष्ट, निवास राना, मानमती बोहरा, मनादेवी सुनार लगायतलाई प्रदान गरिएको छ ।