सुदूरपश्चिमका निवर्तमान अर्थमन्त्रीको घर जाने बाटोको नहरमा बन्दैछ तीन करोडमा पक्की पुल, निर्माणका लागि ठेकेदार कम्पनी छनौट
महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ चमनचोकस्थित महाकाली सिँचाईको मूल नहरमा झण्डै तीन करोड खर्च गरी पुल बनाउन थालिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सिँचाई नहरमा पुल बनाउन लागेको हो ।
प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय कञ्चनपुरले पुल निर्माणका लागि निर्माण कम्पनी छनौट गरेको छ । पुल बनाउन कैलालीको ध्रबतारा निर्माण सेवा छनौट गरिएको छ । निर्माण कम्पनीलाई २ करोड ८४ लाख ८१ हजारमा बोलपत्र स्वीकृत गरिएको आशय सूचना सार्वजनिक गरिएको छ ।
यस अघि पनि नहरमा पुल बनाउन प्रदेश सरकारले बजेट विनियोजन गरिएको थियो । कल्भर्ट बनाउनु पर्ने स्थानमा पुल बनाउन लागिएको भन्दै विरोध भएपछि रोकिएको थियो । गत वर्ष फेरि नहरमा पक्की पुल बनाउन बजेट विनियोजन गरिएको थियो ।
भीमदत्त नगरपालिका ६ चमनचोकस्थित सिँचाई नहरमा आवतजावतका लागि नहर निर्माण हुँदा कल्भर्ट निर्माण गरिएको छ । कल्भर्टका दुबै किनारका फलामे छड क्षतिग्रस्त भएका छन् । कल्भर्ट जीर्ण भएर आवागमनमा समस्या भएपछि नयाँ बनाउन छाडेर पक्की पुल नै बनाउन लागिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान अर्थमन्त्री प्रकाश रावलले नहरमा पुल बनाउन बजेट विनियोजन गरेका हुन् । उनी भीनपा ६ का वासिन्दा हुन् । उनी नहर किनारको यहीं कल्भर्टर आफ्नो घर आउजाउ गर्दै आएका छन् । अहिले निवर्तमान अर्थमन्त्री रावलको घर जाने नहरको बाटोमा करोडमा पुल बनाउन लागिएको हो ।
निवर्तमान मन्त्री रावल अहिले पनि कञ्चनपुर क्षेत्र नं. ३ क बाट प्रदेश सभा सदस्य छन् । यस पटक उनी नेकपा एकीकृत समाजवादीबाट साँसद भएका हुन् । अघिल्लो पटक एमालेबाट साँसद भएका उनी पार्टी छाडेर समाजवादी भएर आर्थिक मामिला मन्त्री भएका हुन् ।
निवर्तमान मन्त्री रावलका स्वकीय इन्द्र सिह ठगुन्नाले भीमदत्त नगरपालिका १,३,६,७,८,९,१० नम्बर र डडेलधुराको पशुराम नगरपालिका मलास क्षेत्रका बासिन्दालाई महेन्द्रनगर बजार जोडिने प्रमुख बाटो भएकाले पुल बनाउन लागिएको फेसबुकमा उल्लेख गरेका छन् ।
‘भानुचौक नजिक रहेको नहरमा रहेको पुरानो जीण पुलमा आवतजावत गर्दा खेप्दै आएको समस्यालाई ध्यानमा राखेर नयाँ पुल बन्ने भएको छ । धन्यवाद छ । यस क्षेत्रका प्रदेश सभा सदस्य निवर्तमान मन्त्री माननीय प्रकाश रावलज्यू र सुदूरपश्चिम प्रदेश सरकारलाई यस क्षेत्रका बासिन्दाहरु समस्यालाई ध्यानमा राखेर पुलका लागि बजेट विनोयोजित गरेको’ उनले फेसबुकमा भनेका छन् ।