महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले राष्ट्रपतिबाट प्रदान गरिने अलंकार बहिस्कार गरेका छन् । भीमदत्त नगरपालिका ५ वनगाउँका जोशीलाई सरकारले समाज सेवा रत्नका लागि सिफारिश गरेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १ गते सरकारले सिफारिश गरेका विभिन्न क्षेत्रका व्यक्तित्वलाई अलंकार, पदक, विभुषणबाट विभूषित गरेको थियो । अलंकारका लागि काठमाडौं गएका उनले बहिस्कार गरेका छन् ।
महाकाली अस्पतालमा जनशक्ति व्यवस्थापन गरी सेवा प्रवाह सुधार र कोरोना महामारीमा जोशीले निर्वाह गरेको भूमिका लागि उनलाई समाजसेवीबाट सिफारिश गरिएका थियो । अघिल्लो वर्ष उनी जिल्ला प्रशासन कार्यालयबाट सिफारिशमा नै छुटेपछि चौतर्फी आलोचना भएको थियो ।
निवर्ततमान अध्यक्ष जोशीले काठमाडौं पुगेपछि आफूलाई समाज सेवा रत्न ग्रहण गर्न मनले नमानेको बताए । ‘मलाई दिइएको समाज सेवा रत्न हो, मेरो मनले यो रत्न लिन ठिक मानेन’ उनले भने,‘सरकारले सिफारिश गरिएकोमा भने म धन्यवाद दिन्छु ।’
शिक्षण पृष्ठभूमिबाट राजनीतिमा आएका उनी स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिकाको उप मेयरमा चुनाव लडेका थिए । माओवादीको सबैभन्दा कमजोर साँगठनिक अवस्था भएको भीमदत्तमा पनि उनी भण्डै डेढ हजार मतले पराजित भएका थिए ।