
एमाले साँसद तामाङ्गले संसदमा उठाए सीमा विवाद, भने– जनतालाई सुरक्षाको अनुभूति हुने गरी सीमा विवादको समाधान खोजियोस् ।’

महेन्द्रनगर । नेकपा एमालेका सांसद तारा लामाले भारतसँगको सीमा विवादका कारण कञ्चनपुरका नागरिकले वर्षौदेखि सास्ती बेहोर्दै आएको भन्दै तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद लामाले सिमानामा भारतीय सुरक्षाकर्मीले नेपाली नागरिक र कर्मचारीहरुमाथि ज्यादती गरिरहेको घटना सुनाए ।
उनले २०७३ फागुन २६ गते सीमा विवादकै कारण गोविन्द गौतमको ज्यान गएको भन्दै फेरि त्यस्तै अवस्था आउन नदिन ध्यानाकर्षण गराए ।

‘कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रमा विद्युत् लाइन विस्तार गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई भारतीय सुरक्षाकर्मीले धाकधम्की गरेका छन् । कहिले हुलाकी सडक बनाउँदा अवरोध गरिएको छ, कहिले विद्युत् विस्तारमा अवरोध गरिएको छ,’ उनले भने, ‘सीमा क्षेत्रमा नेपाली नागरिकहरूले असुरक्षित महसुस गरिरहेका छन् । जनतालाई सुरक्षाको अनुभूति हुने गरी सीमा विवादको समाधान खोजियोस् ।’
उनले सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको ज्यादतीको भर्त्सना गर्न समेत माग गरे । ‘२०७३ फागुन २६ गते गोविन्द गौतमले सहादत प्राप्त गरेको जस्तो त्यहाँको जनताले फेरि भोग्नु नपरोस्,’ लामाले भने ।
गौतमको २०७३ साल फागुन २६ गते सीमा विवादका विषयमा झडप हुँदा भारतीय प्रहरीको गोली लागेर गौतमको ज्यान गएको थियो ।
साभार : कान्तिपुर
