
संघीय निजामति सेवा ऐनको मस्यौदा सार्वजनिक गर्न माग गर्दै चार कर्मचारी संगठनले प्रधानमन्त्रीलाई बुझाए ज्ञापन

महेन्द्रनगर । चार कर्मचारी संगठनले संघीय निजामति सेवा ऐनको मस्यौदा सार्वजनिक गर्न माग गर्दै सरकारलाई ज्ञापन बुझाएका छन् । कर्मचारी संगठनले जिल्ला प्रशासन कार्यालय मार्फत बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संयुक्त ज्ञापन बुझाएका छन् ।
नेपाल निजामति कर्मचारी युनियन, नेपाल निजामति कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठनले बैशाख १८ गतेभित्र ऐनको मस्यौदा सार्वजनिक गर्न पर्ने माग राखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ज्ञापन पठाएका छन् ।

प्रशासन कार्यालयमा कर्मचारी संगठनले सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई ज्ञापन बुझाए । ज्ञापन बुझाउन युनियका अध्यक्ष प्रेम सिह ऐर, कर्मचारी संगठनका अध्यक्ष मान बहादुर चन्द, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष भान बहादुर महरा र एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष पुरुषोत्तम भट्ट लगायतका सहभागी भएका छन् ।
सरकारले सरोकारवालाससित छलफल नगरी मस्यौदालाई सहमतिका लागि अर्थ मन्त्रालय, कानुन मन्त्रालय र संसदीय मामिला मन्त्रालयमा लगेपछि राष्ट्रिय निजामती कर्मचारीका ट्रेड युनियनको राष्ट्रिय स्तरको आन्दोलन कार्यक्रम अनुसार जिल्लाबाट पनि संयुक्त ज्ञापन बुझाइएको एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष भट्टले बताए ।
