महेन्दंनगर । भीमदत्त नगरपालिका ११ वडा कार्यालयद्वारा आयोजित प्रथम मेयर कप टी–१० क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर ४ ले जितेको छ । शुक्रबार वडा नम्बर ११ स्थित सिद्धनाथ अमर माध्यमिक विद्यायको खेल मैदानमा वडा नम्बर ४ र वडा नम्बर ९ विच भएको फाइनल खेलमा वडा नम्बर ४ विजयी भएको हो ।
विजयी वडा नम्बर ४ को टिमले १ लाख ११ हजार १ सय ११ नगर सहित ट्रफी पुरस्कार प्राप्त गरेको छ । यस्तै उप विजेता वडा नम्बर ९ ले नगद ५५ हजार ५ सय ५५ नगर सहित ट्रफी पुरस्कार प्राप्त गरेको छ । प्रथम मेयर कप डे–नाइट क्रिकेट प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अथिति एवम् भीमदत्त नगरपालिका नगर प्रमुख पदम बोगटीले विजयी टिम एवम् खेलाडीलाई बधाई दिँदै पछिल्लो समय युवाहरु कुलतमा फस्ने दर बढेकोले युवालाई लागु औषधबाट जोगाउन खेलकुद, कला तथा साङ्गितिक कार्यक्रममा बढी संलग्न गराउनु पर्ने बताए ।
‘खेलकुदले मानिस स्वच्छ रहन्छ र गाउँ,नगर देशकै नाम विश्व माझ चिनाइरहेको हुन्छ’ नगर प्रमुख बोगटीले भने, ‘पछिल्लो समय युवा कुलतमा फस्दै गइ रहनु भएको छ । बच्चालाई कुलतबाट बचाउन पनि यस्ता किसिमका खेलकुद, कला तथा साङ्गितिक कार्यक्रममा बढी संलग्न गराउनु आवश्यक छ ।’
यस्तै उनले नगरको खेलकुद विकासका लागि भीमदत्त नगरपालिका आवश्यक सहयोग,समन्वय र सहकार्य गर्न तयार रहेको बताए । समापन कार्यक्रममा वडा नम्बर ११ का वडाध्यक्ष प्रकाश थापाले कार्यक्रम सम्पन्न पार्न सहयोग गर्ने सम्पूर्णलाई बधाई दिदैँ खेलकुदको विकासका लागि सो प्रतियोगिताको आयोजना गरिएको बताए ।
प्रतियोगितामा २० टिम सहभागी रहेका थिए । प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको समापन कार्यक्रमा नगर प्रमुख बोगटी,विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्य, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि,खेलाडी लगायत सहभागी भएका छन् ।