महेन्द्रनगर । नाबालिकलाई जर्बजस्ती करणी गर्न खोजेको आरोपमा कञ्चनपुर प्रहरीले एक जना सशस्त्र प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–९ ब्रम्हदेव घर भएका सशस्त्र प्रहरी हवल्दार अमरसिंह बुढालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले आरोपित हवल्दार विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको बताए । बुढा झलारीस्थित सशस्त्र प्रहरीको ३५ नम्बर गणमा कार्यरत थिए। बुवा बिरामी भएको बहाना बनाएर उनी १५ दिनको घर विदामा आएका थिए ।
आइतबार मध्यरातमा मदिरा सेवन गरी बुढा १५ वर्षीया नाबालिक सुतेको घरमा जर्बजस्ति प्रवेश गरेका थिए । ती नाबालिक कराएपछि घरका अन्य सदस्य र छिमेकीले थाहा पाएको प्रहरीले जनाएको छ । बुढा मोबाइलसहित केही सामान त्यहीँ छाडेर भागेका थिए ।
पीडित नाबालिकका आफन्तले सोमबार प्रहरी कार्यालयमा उजुरी दिएपछि बुढा पक्राउ परेको डिएसपी डाँगीले बताए । सशस्त्रको झलारीस्थित ३५ नम्बर गणका प्रमुख एसपी प्रेम रावलका अनुसार मुद्दा दर्ता भएपछि बुढा स्वतः निलम्बनमा परेका छन् ।
‘नेपाल प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, हाम्रो तर्फबाट हुनसक्ने सम्पूर्ण सहयोग गछौँ, दोषी भेटिएमा कानुन बमोजिम हदैसम्मको कारबाही होस्,’ उनले भने । एसपी रावलका अनुसार बुवालाई क्यान्सर भयो, उपचारका लागि चितवन लैजान्छु भन्दै बुढाले विदा स्वीकृत गराएका थिए ।