महेन्द्रनगर । बेदकोट नगरपालिकामा अव्यवस्थित र भूमिहिन परिवारलाई जग्गाधनी पूर्जा वितरण कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिका जग्गा नाप जाँच सकिएपछि राष्ट्रिय भूमि आयोगले प्रमाणीकरण गरी पूर्जा बनाएर सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने चरणमा पुगेको हो ।
बेदकोट नगरपालिका १० वडामध्ये ८ वडामा अव्यवस्थित बसोबासी र भूमिहिन परिवारका लागि जग्गा नापजाँच गरिएको छ । बेदकोटका वडा नं. ९ मा पूरै र १० को केही जग्गा नापी रोकिएको छ । वडा नं. ९ मा तत्कालिन शुक्लाफाँटा आरक्षबाट विस्थापित वासिन्दाको पुनस्र्थापन विवादले जग्गा नापी रोकिएको हो ।
सरकारले दुई वर्ष अघि जग्गा विवाद समाधान गर्न समिति बनाएको थियो । वडा नं. १० को पश्चिमी सीमा क्षेत्रतिर जग्गा नाज जाँच हुन नसकेर रोकिएको छ ।
बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले जग्गा नाप जाँच कार्य सकिएर जग्गाधनी पूर्जा वितरणको चरणमा प्रवेश गरिएको बताए ।
‘वडा नं. ९ र १० को केही क्षेत्रमा केही समस्याले नाप जाँच हुन सकेन, त्यो बाहेक सबै वडामा जग्गा नाप जाँच सकिएको छ’ उनले भने,‘अब भूमि आयोगले भेरिफिकेसन गरी सरकारले राजपत्रमा तोके अनुसारको राजश्व लिएर जग्गाधनी पूर्जा दिन मात्रै बाँकी छ ।’
मेयर बोहराले भूमि आयोगलाई जग्गा नाप जाँच सकिएको जानकारी दिएर जग्गाधनी पूर्जा वितरण प्रक्रिया थाल्न आग्रह गरेको बताए । ‘नगरपालिकाबाट हुने काम सकियो, अब भूमि आयोगबाट पूर्जा दिन काम छ, त्यसका लागि आग्रह गरिएको छ, असारसम्म पूर्जा वितरण गर्छौ’ उनले भने ।
नगरपालिकाले बेदकोट नगरपालिका ९ मा जग्गा नाप जाँचका लागि प्राविधिक पठाएको थियो । स्थानीयले अवरोध गरेपछि प्राविधिकहरु फर्किएका थिए ।
बेदकोट नगरपालिका ८ वडामा १३ हजार ३ सय कित्ताको २८ हजार बिगाहा जमिन नाप जाँच गरिएको छ । त्यसमा सबैभन्दा बढी अव्यवस्थित बसोबासीको छ । नगरपालिकाका अनुसार ८ हजार ७ सय ३४ अव्यवस्थित परिवार छन् । बेदकोटको वडा नं. ४ र ५ पूरै वडामा अव्यवस्थित बसोबास थियो ।
त्यस बाहेक नगरपालिका अन्य सबै वडामा पनि अव्यवस्थित बसोबासी छन् । अव्यवस्थित बसोबासीपछि ५ सय ८ जना सेतो पूर्जा भएका परिवार छन् । ती परिवार वडा नं. १, ८, ९ र १० मा छन् । यस बाहेक भूमिहि न दलित १५ र सुकुम्बासी ९ परिवारका लागि जग्गा नाप जाँच गरिएको छ । संविधानमा भूमिहिन दलितलाई एक पटक जग्गा दिने संवैधानिक व्यवस्था गरिएको छ ।
बेदकोट नगरपालिकामा राष्ट्रिय भूमि आयोगका कामकाजलाई सहयोग गर्न स्थानीय सेवा केन्द्रका प्रमुख केशवदत्त भट्टले लगत संकलनदेखि हालसम्म तीव्र रुपमा कार्य गरिएको बताए ।
‘जग्गाको लगत संकलनदेखि हालसम्म तीव्र रुपमा कार्य गर्दै आएका छौ’ उनले भने,‘अब नापी सकिएको छ, अब पूर्जा वितरण कार्य मात्रै बाँकी छ ।’