महेन्द्रनगर । भीमदत्त नगरपालिका १७ का वडा अध्यक्ष पदम सिंह बुढाले आफ्नो सेवा सुविधा खर्च गरी रेडक्रस सोसाइटीको एम्बुलेन्सले मर्मत गरी सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।
दुई वर्षदेखि थन्किएको नेपाल रेडक्रस सोसाइटी महाकाली उप शाखाको एम्बुलेन्सलाई बुढाले आप्नो एक वर्षको पारश्रमिक खर्च गरी मर्मत गरी सञ्चालन गर्ने तयारी गरेका छन् ।
काँग्रेसका वडा सभापति उनी गत वर्ष बैशाखमा स्थानीय तह निर्वाचनबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् । एम्बुलेन्सले वडाका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा उपलब्ध गराउनेछ ।
वडा अध्यक्ष बुढाले वडाका वासिन्दाका लागि निःशुल्क सेवा सञ्चालन गर्ने गरी एम्बुलेन्स मर्मत गरिएको बताए । ‘रेडक्रसमा एम्बुलेन्स बिग्रिएर थन्किएको थियो, एक वर्षको पारिश्रमिक खर्चेर एम्बुलेन्स मर्मत गरे,’ उनले भने, ‘अब जेठ २ गतेबाट एम्बुलेन्स सञ्चालनमा आउँछ।”
रेडक्रस र वडा कार्यालयकाबीच म १ ख २८८ नम्बरको एम्बुलेन्स सञ्चालनका लागि पाँच वर्षको सम्झौता भएको छ । एक वर्षको पारिश्रमिकमध्येको दुई लाख ५० हजार भन्दा बढी रकम एम्बुलेन्स मर्मतमा खर्च भएको छ ।
एम्बुलेन्स सञ्चालनमा आएपछि भीमदत्त नगरपालिकाको वडा नं. ११, १२, १३, १४, १६ र १७ का स्थानीय लाभान्वित हुनेछन्। “मेरो पारिश्रमिकबाट एम्बुलेन्सको शुल्क तिर्छौ, जेष्ठ नागरिकलाई निःशुल्क सेवा उपलब्ध गराउँछौँ”, उनले भने, “अन्यको हकमा रेडक्रसले निर्धारण गरेको शुल्क तिर्नुपर्छ।”