
सत्यवादीको दिवा खाजा प्रकरण : छानबिन माग गर्ने अभिभावकमाथि खनिए प्रधानाध्यापक, विज्ञप्ति निकालेर भने खड्कामाथि लगाए गम्भीर आरोप
महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ वनगाउँस्थित सत्यवादी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र सिह साउँदले दिवा खाजा खाएर विद्यार्थी विरामी भएपछि छानबिनको माग गर्दै आएका अभिभावकमाथि आक्रोश पोखेका छन् । सोमबार विद्यालयमा दिवा खाजामा चाना खाएपछि विद्यालयका विद्यार्थी विरामी भएपछि स्थानीय राजु सिह खड्का सहित अभिभावकले छानबिनको माग गरेका छन् ।
खड्का सहितले मंगलबार सामाजिक विकास कार्यालय, भीमदत्त नगरपालिका र वडा कार्यालयमा विद्यार्थी विरामी परेको घटना छानबिनका लागि दबाव दिएका छन् । अभिभावकले सम्बन्धित कार्यालयमा गुहारेपछि प्रधानाध्यापक साउँदले बुधबार विज्ञप्ति जारी गरी विद्यार्थी विरामी भएको घट्नामा सत्यता नभएको दावी गरेका छन् । जबकी उनले मंगलबार भीमदत्तको शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख हरिदत्त जोशीलाई केही कमजोरी भएको भन्दै सुधार गर्ने बताएका थिए ।
प्रधानाध्यापक साउँदले जारी विज्ञप्तिमा विद्यालयबाट विद्यालयबाट स्वार्थ पूर्ति हुन नसकेपछि पटक पटक यस्ता प्रयास हुँदै आएको उल्लेख गरिएको छ । विद्यालयको नयाँ नेतृत्व आएपछि सुधारको दिशामा अघि बढेको उल्लेख गर्दै उनले विगतमा स्वार्थ पूर्ति गर्न नपाएकाहरु स्वार्थ पूर्तिका लागि पटक पटक प्रयास गर्दै आएको उल्लेख गरिएको छ ।
भीमदत्त नगरपालिकाको दरबन्दी समायोजनपछि उनी विद्यालयको प्रधानाध्यापक भएका हुन् । प्रधानाध्यापक साउँदले विज्ञप्तिमा स्थानीय खड्का नाम नै उल्लेख गरी उनीमाथि गम्भीर आरोप लगाएका छन् । उनले खड्काले आफूले बनाएको खाना किन्न विद्यालयसित प्रस्ताव गरेको आरोप लगाएका छन् ।
तीन खण्डको विज्ञप्तिको समाचार व्यक्त विद्यालयको धारणा शीर्षकमा प्रधानाध्यापक साउँदले खड्काले पूर्वाग्रह रुपमा पत्रिकामा जानकारी दिइएको र उनले आफूले बनाएको खाजा विद्यालयले किनि दिनु पर्ने प्रस्ताव राखेको उल्लेख गरिएको छ ।
मंगलबार खड्काले आफ्ना नाति नातिना विरामी भएर विद्यालय गएपछि प्रधानाध्यापक साउँदले कमजोरी भएको भन्दै क्षमा याचना मागेको बताएका थिए । प्रधानाध्यापक साउँदले विज्ञप्तिमा भने आफूले माफी नमागेको बरु माफी माग्ने व्यक्तिलाई आफूले भेटन बोलाएको उल्लेख गरेका छन् ।
मंगलबार सबै विद्यार्थी विद्यालयमा रहेको उल्लेख गर्दैै उनले खाजा खाएर विद्यार्थी विरामी भएको भन्ने मेडिकल रिपोर्ट नआएको उल्लेख गरिएको छ ।
