चुनाव जितेर फेरि वेवास्ता गरिएपछि शुक्लाफाँटा आरक्ष पीडितले काठमाडौं गएर गुहारे साँसद, समस्या समाधानका लागि पहल गरि दिन माग
महेन्द्रनगर । तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्थापित परिवारले समस्या समाधान गर्नका लागि पहल गरि दिन सांसदहरूसँग माग गरेका छन् । शुक्लाफाँटा आरक्ष पीडितहरूको एक समूह काठमाडौं आएर बिहीबार संसद् भवनमा सांसदहरूलाई भेटेर आफ्ना समस्या समाधान गरिदिन माग गरेका हुन् ।
तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा २०५८ सालमा विस्थापित गरिएको तर अझैसम्म पनि पुनर्स्थापना नगरिएको भन्दै समस्या समाधान गरिदिन माग गरेका हुन् । राज्यले ३२ वटा आयोग बनाउँदा पनि पीडितले क्षतिपूर्ति तथा मुआब्जा नपाएको बताएका छन् ।
राज्यको ध्यानाकर्षण गराउन अध्यक्ष कर्णबहादुर चन्दको नेतृत्वमा १० सदस्यीय आरक्ष पीडित संघर्ष समितिको टोली बुधबार काठमाडौं आएको थियो ।
टोलीले बिहीबार कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद एवं प्रमुख सचेतक रमेश लेखक, एमाले सांसद तारालामा तामाङसँग भेट गरेको हो । कांग्रेस प्रमुख सचेतक लेखक र एमाले सांसद लामाले आरक्ष पीडितका समस्या समाधानका लागि संसद्मा आवाज उठाउने र सरकारसँग पनि पहल गर्ने प्रतिबद्धता जनाएको संघर्ष समितिका सचिव प्रेमदत्त भट्टले जानकारी दिए ।
सांसद लेखकले एक–दुई दिनमै वन तथा वातावरणमन्त्री पनि नियुक्त हुन लागेको भन्दै समस्या समाधान गरेर जानुबाहेक अरु विकल्प नभएको बताए । कञ्चनपुरका सबै सांसद मिलेर यो विषयलाई निष्कर्षमा पु¥याउन आफू तयार रहेको उनको भनाइ थियो । ‘तपाईको पीडा थाहा छ ।
समाधान गर्न कोसिस गर्छौं । एक–दुई दिनमा मन्त्री पनि नियुक्त हुनुहुन्छ । त्यसपछि हामी तीनै जना सांसद तपाईहरूसहित मन्त्रीसँग बसेर कुरा गरौला,’ लेखकले पीडितहरूलाई भने । तामाङले पनि यो विषयलाई सदनमा जोडदाररुपमा उठाउने बताएका छन् ।
पीडितहरूले माओवादी सांसद माधव सापकोटासँग पनि भेट गरेका थिए । सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गराएर समस्या समाधानको लागि प्रयास गर्ने प्रतिबद्धता जनाएको संघर्ष समितिका सचिव भट्टले जानकारी दिए ।