महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ को सभा कक्षमा मंगलबार विहान आगामी आर्थिक वर्षको लागि योजना तर्जुमा प्राथमिकीकरण र चालु वर्षको सार्वजनिक सुनुवाई कार्यक्रम भई रहेको थियो । वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेपछि सचिव दिनेशराज भट्टले चालु आर्थिक वर्षको कार्यक्रम सम्बन्धी जानकारी गराए ।
त्यसपछि कार्यक्रमका सहभागीहरुलाई बोल्ने समय दिइयो । तीन चार जना सहभागीले आफ्ना धारणा राखि सकेपछि सभा कक्षको ढोका दुई महिला आइन् । उनीहरु दुबैले वस्तीतिर लागेको आगो देखाएपछि सबै जना कार्यक्रमबाट बाहिर निस्के । वडा अध्यक्ष देवकोटा, वडा सदस्यहरु सीता भण्डारी, रुपा जैरु सहित अधिकाँश सहभागी र नगर प्रहरी सबै दौडेर त्यहाँ पुगे । त्यहाँ पुगेपछि वडा अध्यक्ष देवकोटा सहित सबैले आगो निभाउन प्रयास गर्न थाले । उनीहरु कोही जलि रहेको घरमा पानी फाल्न थाले, कोही पानी बोक्न थाले, कसैले नलबाट पानी निकाले । नगर प्रहरी सहित केहीले घरभित्र सिलिण्डर निकाले । सबै लागेर पानी फालेर निभाउँदा पनि घर जोगाउन सकिएन । घर जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । घरभित्रका सबै समान लत्ता कपडा जलेका छन् ।
वडा कार्यालयको योजना तर्जुमा सहभागी कलावति सिहको मदन भण्डारी टोलस्थित घरमा विहान ११ बजे आशपासमा विद्युत तार सर्ट भएर आगलागी भएको छ । सुदूरपश्चिम विश्वविद्यालय पछाडि पर्ने उनको घर वडा कार्यालयको पूर्वमा छ । टिनको छत भएको काठको एक तले कच्ची घर जलेको खबर आएपछि सिह पनि अन्यसंगै आइन् । घर जलेको देखेर उनको आँखाबाट आँशु खस्यो । एकल महिला सिह केही वर्षदेखि घर बनाएर बस्दै आएकी थिइन् । ‘यो घर नै थियो, यो पनि जलेर खरानी यो, अब के गरु’ आँखाबाट आँशु झार्दैै उनले भनिन् ।
आगलागी नियन्त्रणमा आएपछि वडा अध्यक्ष देवकोटाले उनलाई ढाडस दिँदै भने, ‘अब नरुनु, जे भो निकै दुःखद भयो, धन्न अन्य क्षति हुन पाएन, यति जना नभएको भए त यो वस्ती नै सखाप हुने थियो त ।’
वडा अध्यक्ष देवकाटोले तत्काल सिहलाई राहत स्वरुप नगद १५ हजार दिने प्रतिवद्धता गरे । ‘यो क्षति भएको छ, तत्काल राहत स्वरुप १५ हजार दिन्छौ, अन्य सहयोगका लागि वडा कार्यालय पहल गर्छ’ उनले भने ।
आगो लागेको झण्डै पौने घण्टापछि सालघारी विटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोली पुग्यो । प्रहरी पनि आगो निभाउन खटियो । नजिकको बिटबाट ढिलोसम्म नआउँदा प्रहरीसित आक्रोश पोखियो । केहीले प्रहरीले पनि नजिकको तिर्थ हेला गरेको भनेर कटाक्ष गरे ।
‘यति नजिक बिट छ, आगोको मुस्लो यसरी गई रहेको छ , यतिका मान्छे आएका छन्, प्रहरी अझैसम्म पनि थाह नहुन गज्जब हो,’ एक जनाले भने,‘यो त नजिकको तिर्थ हेला भनेझैं भने । केहीले प्रहरी कार्यालयको एक सय नम्बरमा चार पटक फोन गर्दा पनि रिसिभ नभएको भनेर आक्रोश पोखे ।
नेपाल विद्युत प्राधिकरण कार्यालयको गाडी भने आगो नियन्त्रणमा आएर सबै जना फर्किने बेला पुग्यो । भीमदत्त नगरपालिकाको दमकलका लागि पनि पटक पटक फोन गरिएको थियो । आगो नियन्त्रणमा आउँदासम्म दमकल पुगेन । वडा अध्यक्ष र सदस्य आफैंले पनि दमकलमा फोन गरेका थिए ।
आगो निभाउन भीमदत्त नगरपालिकका नगर प्रहरी रितु जोशी सहित अन्य प्रहरी खटिए । जोशीले आगोको मुस्लोभित्र पसेर सिलिण्डर बाहिर निकालिन । केही समय उनको श्वास प्रश्वासमा समस्या आयो । वडाको कार्यक्रमका लागि नगरपालिका जोशी सहित दुई प्रहरी गएका हुन् । अर्का नगर प्रहरी यस अघिदेखि वडा कार्यालयमा खटिएका छन् ।
आगलागीबाट घरभित्रका सम्पूर्ण खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, नगद ८÷१० हजार समेत जलेर नष्ट भएको छ ।
यसैबीच वडा अध्यक्ष देवकोटाले आगलागी पीडित सिहलाई सहयोगका लागि सबैमा आव्हान गरेका छन् । ‘आर्थिक तथा भौतिक सहयोग को लागि सहयोगी हातहरुलाई हार्दिक अपिल सामाजिक सञ्जालमा वडा अध्यक्षले भनेका छन् ।