
महेन्द्रनगर । बैतडीको मेलौलीमा दलित समुदायका वासिन्दालाई बाटो हिँड्न बन्द गरिएको छ । मेलौली नगरपालिका ७ मा आरबाट टोलका उनीहरुलाई हिँडडुल गर्न नदिन जेउड्या टोलका गैर दलित समुदायले बार हालेर बाटो बन्द गरेका छन् ।
बाटोमा बार लगाएपछि आरबाट टोलका १० परिवारको हिँडडुल रोकिएको छ । उनीहरु अहिले बाटो खुलाउन दैनिक रुपमा नगरपालिका र वडा कार्यालय धाई रहेका छन् । ती दुबै निकाय मागमा गम्भीर नभएको उनीहरु बताउँछन् ।
जेउड्या टोलका तीन चार चन्द परिवारले बाटोमा बार लगाएर हिँडडुल गर्न नदिएको उनीहरुले बताए । उनीहरु ४० वर्षदेखि यो बाटोमा हिँडडुल गर्दै आएका छन् । केही वर्षदेखि स्थानीय चन्द परिवारले उनीहरुलाई हिँडडुल नगर्न भन्दै आएका थिए ।
बाटोमा बार हालेपछि दलित समुदायका वासिन्दालाई टोल बाहिर निस्कन समस्या परेको छ । बाटो बन्द गरिएपछि बजारमा किनमेलदेखि बालबालिकालाई विद्यालय पठाउनेसम्म रोकिएको उनीहरु बताउँछन् ।
यस अघि चन्द परिवारले उनीहरुले वर्षौदेखि प्रयोग गर्दै आएको पानीको धारा बन्द गरेको थियो । अहिले बाटो बन्द गरिएपछि आफूहरुलाई घेराबन्दीमा पारी वस्तीबाट लखेट्न खोजिएको आशंका उनीहरुको छ ।
