महेन्द्रनगर । नेकपा एमालेले पार्टी विभाजनपछि अस्तव्यस्त साँगठनिक अवस्थालाई पूर्ववत अवस्थामा फर्काउन संगठन सुदृढीकरण सञ्चालन सुरु गरेको छ । एमाले कञ्चनपुरको असार ९ गते बसेको जिल्ला कमिटी बैठकको निर्णय अनुसार पुनर्वास नगरपालिकाबाट संगठन सुदृढीकरण अभियान सुरु गरिएको छ ।
एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले साउन १५ गतेभित्र पालिका बैठक बसेर पार्टी कामलाई अगाडि बढाउने निर्णय गरे अनुरूप बैठकहरू बस्न थालेको बताए । ‘शुक्रबार पुनर्वास नगर कमिटीको सचिवालय बैठक बसेको छ, शनिबार लालझाडी गाउँ कमिटीको बैठक बसेको छ, आईतबार बेलौरी नगर कमिटीको बैठक बस्नेछ,’ सचिव भट्टले भने, ‘मिसन ग्रासरुट अभियानको सिकाइपछि पार्टी केन्द्रको निर्णयअनुसार कञ्चनपुर एमाले नयाँ मिसनमा अगाडि बढेको छ ।’
शुक्रबार बसेको पुनर्वास नगर कमिटी सचिवालय बैठकले कमिटीलाई पुनर्गठन गर्ने निर्णय गरेको छ । कमिटीका कतिपय सदस्यहरूको निष्क्रियताका कारण बैठकमा गणपुरक संख्या नपुग्ने समस्या रहेकाले पुनर्गठन गर्नुपर्ने भएको एमाले केन्द्रीय सदस्य तथा पुनर्वास इन्चार्ज नरबहादुर धामीले बताए ।
यस अघि चैत २९ गतेको जिल्ला कमिटी बैठकले मिसन ग्रासरुट अभियानमा प्राप्त सुझावअनुसार पुनर्वास र शुक्लाफाँटा नगर कमिटी पुनर्गठन गर्ने निर्णय गरेको थियो । जसअनुसार शुक्रबार बसेको पुनर्वास नगर कमिटीको बैठकमा कमिटी पुनर्गठन गर्ने निर्णय भएको छ ।
एमाले पुनर्वास नगर कमिटीका अध्यक्ष पदम पुजाराको अध्यक्षतामा गरिएको कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज नारदमुनि राना, केन्द्रीय सदस्य तथा पालिका इन्चार्ज नरबहादुर धामी, प्रदेशसभा सदस्य वीरबहादुर थापा, प्रतिनिधिसभा सदस्य तारालामा तामाङ, जिल्ला कमिटी कार्यबाहक अध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लबराज भट्ट, उपसचिव फैरु तामाङ लगायत नेता सहभागी भएका छन् ।
एमालेले २०८० लाई अधिवेशनको वर्ष घोषणा गर्दै प्रदेशदेखि टोल कमिटीसम्मका अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन भदौमा हुने र त्यसपछि जिल्ला, पालिका, वडा हुँदै टोलका अधिवेशन हुने कार्यतालिका रहेको कार्यबाहक अध्यक्ष लक्ष्मी बुढाले जानकारी दिइन् ।