महेन्द्रनगर । कञ्चनपुरमा काठ तस्करी नियन्त्रण् बाहिर गएको छ । वन कार्यालयको नियन्त्रणको बाबजुद बर्सेनी तस्करी हुँदै आएको छ । सामुदायिक तथा राष्ट्रिय वन फडानी गरेर काठ तस्करी हुँदै आएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९÷८० मा ४९ गोलिया र चार चौपट काठ बरामद गरिएको छ। साल र सिसमका एक सय १८ दशमलव ६६ क्युफिट अबैध काठ बरामद गरिएको हो ।
अवैध काठमा संलग्न रहेको भन्दै प्रहरीले दुई महिला र पाँच पुरुष गरी ७ जनालाई पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाएको छ । त्यस्तै अवैध काठ सहित एक थान ट्याक्टर र पाँच थान मोटरसाइकल नियन्त्रणमा लिएर वन कार्यालय देखतभुली, बाणी र महेन्द्रनगरमा बुझाएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले २०७९ साउन ११ गते कृष्णपुर नगरपालिका–३ देखतभुलीबाट ८ फिट ८ इन्च लम्बाई, तीन फिट चौडाई र ७ फिट दुई इन्च लम्बाई तथा दुई फिट ८ इन्च चौडाई भएको दुई थान चितुवाको जस्तो देखिने टाटेपटे वस्तु समेत बरामद गरेर अनुसन्धान भइरहेको छ ।
कञ्चनपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट विभिन्न अपराधमा संलग्न तर फरार २०७८ सालमा ६३ जनालाई पक्राउ गरेर अदालतमा पेश गरेको छ भने २०८० को असार मसान्तसम्म थप ७२ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको तथ्यांक छ। काठ तस्करी र वन्यजन्तुको चोरी शिकारी जिल्लाभित्र बढ्दै गएको स्थानीयको गुनासो छ।
साभार : दिनेश खबर