महेन्द्रनगर । बझाङमा सार्वजनिक जग्गामा घर बनाएको भन्दै स्थानीयले एक जनाको निर्माणाधीन घर भत्काएका छन् ।
वित्थडचिर गाउँपालिका–७ का करण ओखेडाको निर्माणाधीन घर शुक्रबार स्थानीयले भत्काएका हुन् । गत मंसिरदेखि निर्माणाधीन ओखेडाको घर भत्काएको भिडिओ अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको छ ।
स्थानीयहरूले सार्वजनिक स्थलमा घर बनाएको भन्दै वडा कार्यालयमा उजुरी परेकाले घर भत्काउनुका साथै त्यहाँ लगाएको खेतीपाती पनि फडानी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयले निर्माणाधीन घर भत्काएको आरोपमा तीन जनालाई समातेको छ । स्थानीय कृष्ण जोशी, भवानी जोशी र नन्दलाल जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरु विरुद्ध करण ओखेडाले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । उनीहरुले दलितले आफ्नो नजिक घर बनाएको भन्दै भत्काएको ओखेडा परिवारको भनाई छ ।