
महेन्द्रनगर । बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका भीमदत्त नगरपालिका १८ सालघारीका लप्टन चौधरी उपचार खर्च तिर्न नसकेर अलपत्र परेका छन् । मेडिकल कलेजलाई उपचार खर्च तिर्न नसकेपछि उनी डिस्चार्ज नएर अस्पतालमा राखिएका छन् । उनको डिस्चार्जका लागि विहान खर्च तिर्न भनिएको थियो ।
मेडिकल कलेजका कर्मचारीले चौधरीका कुरुवालाई उपचार खर्च तिरेपछि मात्रै बाहिर निस्कन दिने जानकारी दिएको छ । उनीसित उनका छोरा र सालो कुरुवा छन् । उनीहरुले विहानै घर परिवारलाई जानकारी गराएपछि उनका आफन्तले सहयोगका लागि हारगुहार गरि रहेका छन् ।
महाकाली प्रादेशिक अस्पलातमा भर्ना गरिएका चौधरी नेपालगञ्ज रिफर गरिएपछि शनिबार भर्ना भएका थिए । उनलाई भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले नेपालगञ्ज जान सहयोग गरेकी थिइन् ।
मुटु सम्बन्धि रोगबाट पीडित चौधरी उपचार हुने आशमा नेपालगञ्ज पुगेका हुन् । स्वास्थ्य अवस्था सुधार आउने अवस्था नभएपछि उनलाई मेडिकल कलेजले विहान डिस्चार्ज गर्ने तयारी गरिएको थियो ।
भीमदत्त नगरपालिका १८ का विवेक भट्टले चौधरी परिवार मजदुरी गरी घर परिवार चलाउँदै आएकाले उपचार खर्चका लागि सबैले सहयोग गर्नु पर्ने बताए ।
‘उपचार खर्च व्यहोर्न सक्ने क्षमता चौधरी परिवारसित छैन, यो परिवार मजदुरी गरी जीविका चलाउँदै आएको छ’ उनले भने,‘त्यसैले यस्तो बेलामा सबैले सहयोग गर्नु आवश्यक छ ।’
