
महेन्द्रनगर । कञ्चनपुरमा लागु औषधि कारोबारमा संलग्न ४४ जान भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷०७७ देखि २०७९÷०८० को असार मसान्तसम्म उनीहरु पक्राउ गरिएका हुन् ।
प्रहरी कार्यालयको तथ्याङ्क अनुसार लागु औषध कारोबारमा पक्राउ पर्ने भारतीयको संख्या बर्सेनी बढेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा ७ जना पक्राउ परेकोमा गत आर्थिक वर्षमा यो संख्या बढेर दोब्बर पुगेको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी १४ जना पक्राउ गरिएका छन् ।

अघिल्लो आर्थिक वर्षमा १३ जना र त्यस अघि २०७७÷०७८ मा १० पक्राउ गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । प्रहरीले लागु औषध विरुद्ध सञ्चालन गरेको विशेष अभियानका क्रममा उनीहरु पक्राउ गरिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा २ सय ८४ जना लागु औषध कारोबारमा पक्राउ गरिएका छन् । उनीहरुमा २५५ पुरुष, १३ महिला र १४ भारतीय नागरिक छन् । गत वर्ष प्रहरी कार्यालयमा लागु औषधका १ सय ५४ मुद्दा पुगेका छन् ।
प्रहरीले गत वर्ष २६ किलो चरेश, ५ सय ४७ दशमलव २१० ग्राम हिरोइन, ३६ टयाब्लेट नाईट्राभेट, फेनारगन, रेक्सोजेसिक, डाईजापाम लगायतका लागु औषध बरामद गरेको छ ।
आर्थिक वर्ष २०७८÷२०७९ मा पक्राउ गरिएका २ सय ३९ जनामध्ये १३ भारतीय नागरिक छन् । उनीहरुमा २ सय १८ पुरुष र ८ महिला नेपाली छन् । यस वर्ष ३३ किलो चरेश, ५ सय ८० ग्राम खैरोहेरोईनः, १७४८ ट्याबलेट नाईट्राभेट, फेनारगन लगायतका लागु औषध बरामद गरिएका छन् ।
लागु औषध २ सय ३० जना पक्राउ गरिएको आर्थिक वर्ष २०७७÷०७८ मा १० भारतीय पक्राउ गरिएका छन् । उनीहरु बाहेक २ सय १६ पुरुष र ४ महिला छन् ।
प्रहरी कार्यालयको तथ्याङ्कमा त्यस वर्ष एक किलो चरेश, ८३९ खैरो हेरोईन, ८२०, ट्यावलेट बरामद गरिएको उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले लागु औषध नियन्त्रण विरुद्ध अभियान सुरु गरेको आर्थिक वर्ष २०७६÷०७६ मा ८७ जना पक्राउ गरिएका थिए । त्यसमा ७ जना भारतीय नागरिक थिए ।
उनीहरु बाहेक ७७ पुरुष र ३ महिला नेपाली पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालिन प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले लागु औषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेका थिए । उनीपछि प्रहरी प्रमुखले लागु औषध नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आएका छन् ।
भारतीय सीमावर्ती सहरबाट कञ्चनपुरमा लागु औषध कारोबार हुँदै आएको छ । खुला सीमा नाका कारण प्रहरीलाई लागु औषध कारोबार रोक्न चुनौतीपूर्ण बनेको छ ।
प्रहरीले पक्राउ परेका भारतीयमध्ये अधिकाँश कारोबारसंग सम्बन्धित छन् । उनीहरुमध्ये केहीलाई लागु औषध बिक्रीका लागि आएको बेला पक्राउ गरिएको हो ।
