महेन्द्रनगर । सरकारले तत्काल प्रस्तावित संघीय शिक्षा विधेयक अघि बढाउने अडान छाडेपछि निजी विद्यालयका संगठनको विद्यालय बन्द कार्यक्रम फिर्ता भए पनि अन्य आन्दोलनलाई जारी राख्ने भएका छन् । निजी विद्यालय संगठनले सामुदायिक विद्यालयका विभिन्न पेशागत संगठनसित सहकार्य गरी आन्दोलन अघि बढाउने भएका छन् ।
प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्दले विद्यालय बन्द कार्यक्रम फिर्ता भए पनि आन्दोलनका अन्य कार्यक्रम सामुदायिक विद्यालयका संगठनसित संयुक्त रुपमा गरिने बताए ।
‘सरकार अहिले टेबुल नगरी पछि हटेको छ, यस्तो अवस्थामा साउन २८ गतेदेखि गर्ने भनिएको विद्यालय बन्दको कार्यक्रम मात्रै फिर्ता लिइएको हो’ प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनले भने,‘यो विधेयक हामी निजी विद्यालयलाई मात्रै कसैको पनि पक्षमा छैन, त्यसैले तपाई हामी सबै सहकार्य समन्वय गरी विधेयक विरुद्ध आन्दोलन जारी राख्छौ ।’
प्रस्तावित विधेयकमा राखिएको संस्थागत विद्यालयलाई पाँच वर्षभित्र शैक्षिक गुठीमा हस्तान्तरण प्रावधानले निजी विद्यालय आक्रोशित भएका छन् । विधेयक विरुघ साउन २८ गतेदेखिद विद्यालय बन्दको घोषणा गरिएको थियो ।
निजी विद्यालयका तीन संगठनले गरेको कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधि र शिक्षक संगठनका प्रतिनिधिले विधेयको गलत प्रावधान सच्याउनु पर्नेमा जोड दिए ।
सामुदायिक विद्यालयका शिक्षक संगठनका अगुवाले विधेयक शिक्षकहरुको हकहितलाई ध्यान दिने नसकेकोमा असन्तुष्टि पोखे ।
काँग्रेस कञ्चनपुरका सह सचिव नाफू सिह साउँद, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी मल्ल र राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति पदम सिह विष्टले सरकारले शैक्षिक क्षेत्रका सम्पूर्ण समस्या सम्बोधन हुने गरी विधेयक ल्याउनु पर्नेमा जोड दिए ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य भवानी चन्द ठकुरीले प्रस्तावित विधेयकमा गलत नियतवश अपाच्य प्रावधान राखिएकाले ऐन बनेर आउन नसक्ने ठोकुवा गरे ।
‘हामी पनि विरोध गरि रहेका छौ, तपाईहरु पनि विरोध हुनु हुन्छ, यो राम्रो नियतले ल्याउन खोजिएको छैन’ उनले भने,‘त्यसैले यो ऐन आउँछ जस्तो लाग्दैन ।’
अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष ओृमप्रकाश जोशीले प्रस्वावित शिक्षा विधेयक कसैको पनि पक्षमा नभएकाले संशोधन हुनु पर्ने बताए ।
नेपाल शिक्षक संघ कञ्चनपुरका सचिव विष्णुदत्त जोशीले सबै शिक्षकको हितका लागि विधेयक संशोधन हुनु पर्नेमा जोड दिए ।
‘बाढी पीडितलाई राहत दिइन्छ, आगलागी पीडितलाई राहत दिइन्छ, यहाँ शिक्षक नै राहतका छन्, शिक्षकलाई राहत चाहिँदैन,’ उनले भने,‘पेटमा लात हानेर क्वालिटी शिक्षा दिन सकिदैन ।’
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका सचिव उत्तम विष्ट, एकीकृत अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष डम्बरदत्त जोशी, राहत शिक्षक संघर्ष समितिका संयोजक लवदेव अवस्थी, बाल विकासका रमा उपाध्यय, विद्यालय कर्मचारी परिषद्का सचिव महानन्द पाण्डेय लगायतले आ–आफ्नो धारणा राखे ।
प्याब्सनका अध्यक्ष अमराज भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा एन प्याब्सन केन्द्रीय उपाध्यक्ष श्याम सिह मौनीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारे । एन प्याब्सन जिल्ला अध्यक्ष झंकरराज जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्याब्सनका सचिव राकेश बहादुर चन्दले गरेका थिए ।