
सुकासालमा इन्टरनेट तारको करेन्टले मृत्यु भएका ओडका परिवारलाई डिस होमले दियो क्षतिपूर्ति, विद्युत प्राधिकरणले आफ्नो प्रक्रिया पूरा गरेपछि दिने

महेन्द्रनगर । करेन्ट लागेर मृत्यु भएका भीमदत्त नगरपालिका १० का दिनेश ओडका परिवारलाई क्षतिपूर्ति दिइएको छ ।
भीनपा १० सुकासालका ३८ बर्षिया ओडको साउन ३१ गते करेन्ट लागेर मृत्यु भएको थियो। करेन्ट लागेर ज्यान गुमाएका ओडका परिवारलाई नेपाल विद्युत प्राधिकरण र डिसहोम अप्टीनेट सलुसन प्रालिले क्षतिपूर्ति दिएको हो। विद्युतको पोलमा झुण्डिएको तारबाट पैदल यात्रा गरिरहेका दिनेशको मृत्यु भएपछि मृतक परिवार आफन्त आन्दोलित भएका थिए।

पीडित पक्षसंग नेपाल विद्युत प्राधिकरण र फाईबर नेटका सञ्चालकबीच शुक्रबार सहमति भएको हो। मृतक ओडका नाबालक सन्तानको उचित पालनपोषणका लागि डिसओमले १० लाख रकम दिएको छ भने नेपाल विद्युत प्राधिकरणले क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने र मृतक ओडका परिवारका एक सदस्यलाई भीमदत्त नगरपालिकाले रोजगारी उपलब्ध गराउने सहमति भएको छ ।
साथै आगामी दिनमा थप दुर्घटना हुन नदिन एक सातभित्रै विद्युत र डिसहोमका तार व्यवस्थापन गर्ने समेत प्राधिकरणले प्रतिवद्धता जनाएको छ।
