
महेन्द्रनगर । भदौ ३ गते लेखापाल विरेन्द्र जोशी निर्घात कुटपिट गरिएको दुई दिनपछि सिद्धनाथ माध्यमिक विद्यालय जिमुवाले घट्नालाई सुनियोजित भन्दै विज्ञप्ति जारी गरेको थियो ।
‘सुनियोजित तरीकाले घटाइएको घट्नामा गम्भीर घाइते कैलाली जिल्लाको निसर्ग अस्पतालमा आइसियुमा राखेर उपचार भई रहेकाले विद्यालय परिवार शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ’ विद्यालयले सार्वजनिक विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

विद्यालयले विज्ञप्ति जारी गरेको एक साता पुग्दा पनि जोशीमाथि सुनियोजित कुटपिटको कारण बाहिर आएको छैन । जोशीलाई कुटपिट किन गरिएको भन्ने चासो भने चारैतिर बढेको छ ।
विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर बोहराले पाँच दिन अघि दुबै पक्षबीच छलफल भएर सहमति भएको विषय एकाएक ल्याएर विद्यालयमा हुलहुज्जत गरी निर्घात कुटपिट गरिएकाले घट्ना सुनियोजित भएको बताए ।
‘साउन ३० गतेको घट्नामा विद्यालयमा बसेर छलफल गरी राजीखुसीका साथ घर गएको अवस्थामा एकाएक भदौ ३ गते विद्यालयभित्र आएर हुलदङ्गा गरी प्रहरीले हत्केडी लगाई सकेपछि निर्घात कुटपिट गरियो’ प्रधानाध्यापक बोहराले भने,‘त्यस हिसाबले यो घट्ना सुनियोजित रुपमा गरिएको हो भन्ने पुष्टि हुन्छ, तर यो किन कसले गरायो यसको कारण थाह छैन, यसमा छानबिन गरी दोषीलाई कारवाही हुनु पर्छ ।’
सिद्धनाथ माविमा पढेका जोशी उच्च शिक्षा अध्ययनपछि २०७२ मा विद्यालयमा कर्मचारी नियुक्त भएका हुन् । विद्यालयमा शिक्षक नभएकाले उनी अर्थशास्त्र विषय पढाउँदै आएका थिए ।
प्रधानाध्यापक बोहरा घाइते जोशी विद्यार्थी जीवनमा इमान्दार भएको र पढाईमा लगनशील भएको बताए ।
जोशीलाई कुटपिट गरेपछि विद्यालयका विद्यार्थीहरुले पनि उनी इमान्दार र अनुशासित भएको दावी गरेका थिए ।
प्रहरी नियन्त्रणमा कुटपिट भएपछि ती छात्राको आरोप वा अन्य कारणले हो भन्ने चर्चा चलेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जोशीका परिवार र विद्यालयले कुटपिटलाई लिएर छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन् । प्रहरीले हालसम्म किटानी जाहेरी दिएकामध्ये ६ जनालाई पक्राउ गरेको छ । दुई जना अझै फरार छन् ।
प्रहरीले हिरासतमा राखेर आरोपीमाथि अनुसन्धान गरि रहेकाले कुटपिटको कारण छिट्टै बाहिर आउने आश जोशीका आफन्तले गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयले पनि अनुसन्धानमा भएकाले कुटपिटको यकिन कारण भन्न नसकिने बताएको छ ।
यो अवस्थामा बाहिर थालिएका चर्चाका आधारमा जोशीमाथि छात्राको आरोप, जोशीसित व्यक्तिगत रिसराग तथा विद्यालयका प्रधानाध्यापक र अध्यक्षसितको प्रतिशोध साँध्ने नियतलाई सम्भावित कुटपिटका कारणका रुपमा हेरिएका छन् ।
पहिलो छात्राको आरोप – साउन ३० गते विद्यालयको सिढीमा भएको घट्ना सम्बन्धि छलफल गरी दुबै पक्ष घर गएका थिए । त्यसको पाँच दिनपछि भदौ ३ गते विद्यालयभित्र प्रवेश गरी हुलहुज्जत भएपछि शिक्षक जोशीलाई पक्राउ गरिएको थियो ।
विद्यालयमा छलफल गरी टुङ्गिएको विषयलाई ल्याएर हुलदङ्गा गरिएकाले विद्यालयले नियोजित घट्नाको रुपमा लिएको छ । विद्यालयले बाहिर पठाएका विद्यार्थीहरुलाई उक्साएर भित्र पठाउन थालिएपछि तत्काल प्रहरी चौकीलाई जानकारी दिइएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सीताराम विष्ट नेतृत्वको प्रहरी टोली विद्यालयभित्र प्रवेश गरी जोशीलाई हत्केडी लगाएर बाहिर ल्याएपछि उनीमाथि कुटपिट गरिएको थियो ।
छात्राको परिवारले पनि जोशी विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । उनको प्रहरी निगरानीमा उपचार भई रहेको छ ।
दोस्रो, जोशीसित व्यक्तिगत रिसिइबी – बाणिज्य संकायमा मास्टर्स जोशी विद्यालयमै विद्यार्थीहरुलाई कोचिङ्ग पढाउँदै आएका थिए । छात्राको आरोपलाई बहाना बनाएर उनीमािथ कोचिङ्गको रिस फेरेको हुन सक्ने उनका आफन्तहरुको आशंका गरेका छन् । जोशीको कोचिङ्ग जिमुवा चौराहाका कोचिङ्ग तथा ट्युसन सेन्टरका लागि टाउको दुखाई बनेको थियो ।
अहिले अहिले आरोपलाई उनीमाथि रिस फर्ने अस्त्र बनाएको हुन सक्ने आफन्तहरु बताउँछन् । जोशी विरुद्ध आफन्त, स्थानीय र विद्यार्थीलाई उक्साएको हुन सक्ने उनीहरुको आशंका छ ।
विद्यालयका प्रधानाध्यापक बोहरा भने उनीसित व्यक्तिगत रिसिइबीको बारेमा जानकारी नभएको र कोचिङ्गको बहानामा रिस फेरिएको हुन सक्नेबारे आफूलाई केही थाहा नभएको बताए ।
‘विद्यालयमा कोचिङ्ग पढाउँथे, त्यही कारण अरु रिसाए भन्न सकिदैन’ उनले भने,‘अहिलेसम्म त वहाँसित अरु कसैको यस्तो रिसराग थियो भन्ने पनि बाहिर आएको छैन ।’
जोशीलाई कुटपिट गरिएको भिडियोमा कोचिङ्ग तथा ट्युसन सेन्टर सम्बद्ध व्यक्ति देखिएका छैनन् । जोशीको आफन्त भने उनीहरु घट्नाका बेला अदृष्य भएको हुन सक्ने बताउँछन् ।
तेस्रो, प्रधाध्यापक र अध्यक्षसित प्रतिशोध – २०७७ देखि बोहरा विद्यालयमा प्रधानाध्यापक छन् । उनी २०५३ देखि विद्यालयमा पढाउँदै आएका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश विष्ट गत वर्ष मात्रै अध्यक्ष भएका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्षका लागि उनीसित अन्य पनि आकाँक्षी देखिएका थिए ।
यसरी हेर्दा विष्टसित आकाँक्षीको समूह सुरुदेखि असन्तुष्ट भएको अनुमान गर्न सकिन्छ । विष्ट अध्यक्ष भएपछि गत जेठमा बाल विकास सहजकर्ताको नियुक्ति गरिएको थियो । बाल विकास सहजकर्ताले नियुक्तिले उनीमाथि असन्तुष्टिलाई थप बढावा दिएको आशंका छ ।
एक जना बाल विकास सहजकर्ताका लागि ३१ जनाको आवेदन परेको थियो । त्यसपछि अध्यक्ष विष्ट र प्रधानाध्यापक बोहरामाथि आफ्नालाई राख्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, विद्यार्थी संगठन सबैबाट चौतर्फी दबाव आएको थियो ।
अध्यक्ष विष्ट र प्रधानाध्यापक बोहराले ती सबै दबाव अस्वीकार गरी नियुक्त गरेका थिए । त्यहीं कारण दुबै जनामाथि बाल विकास सहजकर्ता नियुक्तिले थप असन्तुष्टि बढाई दिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्ट काँग्रेसका निर्वाचन क्षेत्र नं. ३ क का प्रदेश सभाका ृउप सभापति हुन् । जोशीमाथि कुटपिट घट्नापछि उनले आफूसित रिस मान्ने समूहले पनि जोशीलाई कुपिट गरी प्रतिशोध साँधेको हुन सक्ने बताएका थिए ।
विद्यालयका प्रधानाध्यापक बोहरा भने नियुक्तिका कारण पनि जोशीमाथि कुटपिट भएको हुन सक्ने बताउँछन् । नियुक्तिलाई लिएर गुनासो नआए पनि धेरै जनाबाट एक जनालाई छान्नु पर्ने भएकाले असन्तुष्ट भएको हुन सक्ने उनी बताउँछन् ।
प्रधानाध्यापक बोहरा कुटपिटको सबै कारण पत्ता लगाएर राज्यले जानकारी दिनु पर्ने बताउँछन् । ‘कारण के हुन्, त्यो त राज्यले भन्ला, तर समाजमा केही अपराधिक मनोवृत्तिका मान्छे छन्, केही न केही कुराको मौका छोपेर बसेका हुन्छन्, यो घट्नामा पनि यो प्रवृत्ति लागेका हुन सक्छ ।’
