ghar sansar

दुर्गास्थानको यो प्रतिष्ठित शैक्षिक धरोहर कसरी हुन पुग्यो ध्वस्त

महेन्द्रनगर । कुनै समय बैतडी जिल्लाको ख्यातिप्राप्त केदारेश्वर माध्यमिक ( कक्षा १ देखि १२ ) विद्यालय विगत केही वर्ष यता विद्यार्थी पाउनै मुस्किल हुने अवस्थामा पुगेको छ । कुनै समय एउटै कक्षामा सय जना सम्मका दुई देखि तीन सेक्सन सञ्चालन गरेका पठनपाठन गरिरहेको केदारेश्वरमा पछिल्लो पटक विद्यार्थी संख्या ह्वात्तै घटेको छ ।

दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र मेलौली नगरपालिकाको मध्य विन्दुमा रहेको यस विद्यालयले उच्च शिक्षाका लागि पहल सुरु गरेको छ । दशरथचन्द नगरपालिकाको वडा नं. ७ र २, पाटन नगरपालिकाको वडा नं. ५ र मेलौली नगरपालिकाको वडा नं. २ र ३ का जनप्रतिनिधि, स्थानीय तथा अगुवाहरुले केदारेश्वर मावि विद्यालयमा क्याम्पस खोल्नुपर्ने संयुक्त निर्णय गरेका छन् ।

शनिबार विद्यालयमा आयोजित भेलामा उपस्थित जनप्रतिनिधि, अभिभावक तथा स्थानीयले उक्त विद्यालयमा स्नातक तह सम्मको पठनपाठन गर्न क्याम्पसका लागि प्रक्रिया सुरु गर्ने निर्णय गरेका हुन् । शनिबार आयोजित भेलाले क्याम्पस स्थापनाका लागि तदर्थ समिति समेत गठन गरेको तदर्थ समिति सदस्य सचिव महादेब बडुले बताए ।

मेलौली, दशरथचन्द र पाटन नगरपालिकाका विद्यार्थीहरुका लागि उच्च शिक्षा हाँसिल गर्न सहज होस भन्ने हेतुले क्याम्पस स्थापनाका लागि पहल शुरु गरिएको स्थानीय विवेकानन्द पाण्डेयले बताए ।

शनिबार सम्पन्न भएको बैठकले क्याम्पस स्थापनाका लागि आ–आफ्ना क्षेत्रबाट सहयोग गर्ने निर्णय समेत गरेको छ । भेलाबाट क्याम्पस स्थापनाका लागि ७ लाख ५९ हजार चन्दा संकलन भएको छ । यही भदौ १४ गते सम्म दिइसक्ने गरेर स्थानीयहरुले चन्दा दिने प्रतिबद्धता जनाएको आर्थिक संकलन समितिका संयोजक समेत रहेका विवेकानन्द पाण्डेयले बताए ।

क्याम्पस स्थापनाका लागि दशरथचन्द नगरपालिका वडा नं. ७ का जनप्रतिनिधिहरुले एक महिनाको भत्ता वाफत आउने सम्पुर्ण रकम चन्दा दिने र थप रकमका लागि समेत पहल गर्ने प्रतिवद्धता गरेको वडा अध्यक्ष हरीदत्त बडुले बताए ।

सुदूरपश्चिम विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गर्ने गरेर क्याम्पस स्थापनाको पहल गरिएको हो । दुर्गास्थानमा क्याम्पस स्थापना भएमा विभिन्न कारणले उच्च शिक्षा हासिल गर्नबाट वञ्चित विद्यार्थीहरुले शिक्षा ग्रहण गर्न पाउने आश गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...