महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ ब्रह्मदेब बजारमा स्थानीयले बिहीबार मध्यरातमा हालेको ग्राभेल हटाउन आएको भारतीय एसएसबीलाई स्थानीयले फकाई दिएका छन् ।
ब्रह्मदेब बजार पश्चिमको कल्भर्ट नजिक दुई साता अघि ग्राभेल बगेर धसिएको बाटोमा बिहीबार राति स्थानीयले ग्राभेल हालेका थिए । शुक्रबार विहान ग्राभेल सम्याएपछि आएका एसएसएबीले त्यसलाई हटाउन थालेपछि स्थानीयले विरोध गरी रोकि दिएका हुन् ।
भारतीय एसएसबीले सशस्त्र प्रहरीको अगाडि स्थानीयले हालेको ग्राभेल हटाएका थिए । ग्राभेल हटाउँदा सशस्त्र प्रहरी मौन बसेको स्थानीयले बताए ।
स्थानीयले एसएसबीलाई नेपाली भूमि भएको अडान राखेर उनीहरुले ल्याएका फाउरा र कोदोलोबाट बाटोमा ग्राभेल सम्याएका छन् ।
ब्रंह्मदेबका स्थानीय राजेन्द्र प्रसाद पनेरुले बाटोबाट हिँडन नसकिने अवस्था आएपछि स्थानीयले राति ग्राभेलिङ्ग गरेको बताए ।
‘आधा महिना भन्दा बढी भयो, प्रशासन कार्यालय, नगरपालिका सबैतिर पुग्यौ, कहींबाट पनि चासो देखाएन’ उनले भने,‘हिजो राति ग्राभेल ग¥यौ, विहान सम्याएपछि एसएसबी आएर फाल्यो, फेरि स्थानीयले सम्याई दियौ ।’
भारतीय एसएसबीले दशगजा क्षेत्र भएकाले ग्राभेलिङ्ग गर्न नपाउने भनेर जवाफ दिएको पनेरुले बताए । सशस्त्र प्रहरीले यस अघि एसएसबीलाई देखाउँदै ग्राभेल हाल्ने कार्य रोक्दै आएको थियो । केही दिन पनि स्थानीयले ग्राभेलिङ्ग गर्दा सशस्त्र प्रहरीले रोकेको थियो ।
बाटोको ग्राभेल बाटो धसिएर सवारीलाई कल्भर्टमा चढाउन नसकिने अवस्था आएको थियो । २०६४ मा कल्भर्ट बनाएपछि बाटोमा ग्राभेल हालिएको थियो । डेढ दशक अघि स्थानीयले निर्वाध रुपमा ग्राभेलिङ्ग हालेकोमा अहिले एसएसबी अवरोध गरेको हो ।
बाटो बिग्रिएपछि सशस्त्र प्रहरीले असहयोग गरेको स्थानीयको गुनासो छ । सशस्त्र प्रहरीको ब्रह्मदेब पोष्टका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सूर्य प्रसाद पन्तसित पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरिएको उनीहरु बताउँछन् ।
सशस्त्र प्रहरी निरीक्षक पन्त भने भारतले विवादित भूमि भनेका कारण समस्या देखिएको बताउँछन् । उनले माथिको निर्देशन नआएसम्म ग्राभेल गर्न नसकिने भन्दै जवाफ दिँदै आएका थिए ।