महेन्द्रनगर । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय तोडफोड घट्नापछि प्रमुख जिल्ला अधिकारीलाई परीक्षा नियन्त्रक र सह नियन्त्रणमाथि छानबिनका लागि जाहेरी दिएर सत्ताको शक्ति देखाएको छ ।
समाजवादी निकट अनेरास्ववियुले भदौ १५ गते परीक्षा नियन्त्रक देब सिह नाथ र सह नियन्त्रण बीर बहादुर सिंहको कार्यकक्षमा तोडफोड गरेको थियो । परीक्षा नियन्त्रण कार्यालयले सोही दिन तोडफोडमा संलग्न अखिलका नेता कार्यकर्ता विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयले संलग्नको खोजी कार्य अघि बढाएपछि समाजवादीका नेताहरुले आइतबार प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीलाई परीक्षा नियन्त्रक र सह नियन्त्रकमाथि कारवाहीको माग राखेर जाहेरी दिएका हुन् ।
समाजवादीका नेृताहरु लाल बहादुर खड्का, प्रकश रावल, हरक सिह धामी, बीर बहादुर बुढाथोकी र अनेरास्ववियुका जिल्ला संयोजक प्रज्वल कुँबर र महेशराज जोशी लगायतले पार्टीका कार्यकर्ता धनञ्जय जोशी, उमेश बाब्ली, जितेन्द्र चन्द, केशब खड्का र सन्तोस विष्टको नाममा प्रमुख जिल्ला अधिकारीलाई जाहेरी बुझाएका छन् । उनीहरुमा रावल सुदूरपश्चिम प्रदेश सभाको सदस्य तथा पूर्व आर्थिक मामिला मन्त्री हुन् ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको जाहेरीमा अखिलका विद्यार्थीलाई झुटो मुद्दा लगाएर फसाउने नियत राखेर परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीले गुण्डाहरु परिचालन गरी ताला तोडेको आरोप लगाइएको छ । तोडफोड अघि ताला तोडिएको सम्बन्धि जानकारी लिन कार्यालय पुगेका नेता कार्यकर्तामाथि गाली गलौज गरिएको पनि जाहेरीमा आरोप लगाएको छ ।
‘अनेरास्ववियुका नेता कार्यकर्तालाई अपमानजनक शब्दले गालीगलौज मात्रै गरेनन्, अनेरास्ववियुका नेता कार्यकर्तालाई त्यहाँबाट फर्केपछि नेताहरुलाई गलत र कपोकल्पित ढङ्गबाट झुटा मुद्दा लगाई फसाउने नियतले आफ्नै नेतृत्वमा गुण्डाहरु प्रयोग गरी कार्यालय तोडफोड समेत गरिएकाले परीक्षा नियन्त्रण कार्यालयभित्रका पेपरको त्रुटी, तालाबन्दी तोड्ने कार्य र कार्यालय तोडफोडको समेत निष्पक्ष छानबिन तथा निजहरु परीक्षा नियन्त्रक र सह नियन्त्रकलाई मुलुकी अपराध सँहिता ऐन २०७४ को दफा ३०५ को उप दफा ३ बमोजिमको कारवाहीको माग गर्दछौ’ जाहेरीमा भनिएको छ ।
परीक्षा नियन्त्रक नाथले छापामार शैलीमा आएको अनेरास्ववियुका नेता कार्यकर्ताको समूहले तोडफोड गरेको बताएका थिए । त्यस लगत्तै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइएको थियो ।
अनेरास्ववियुका जिल्ला संयोजक प्रज्वल कुँबरले तोडफोडबारे आफूलाई केही जानकारी नभएको बताएका थिए । उनी आइतबार प्रशासन कार्यालयमा भने देखिएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको हुबहु प्रश्नपत्र यस वर्ष बनाएको भन्दै अखिलले साउन १८ गते परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेको थियो । विश्वविद्यालका विद्यार्थीले भदौ १५ गते ताला तोडेका थिए ।
तोडफोडबाट नियन्त्रक तथा सह नियन्त्रक कक्षका सर्भर सहित महत्वपूर्ण कागजातमा क्षति पुगेको छ । परीक्षा नियन्त्रण कार्यालय तोडफोडलाई लिएर एकीकृत समाजवादीको चौतर्फी आलोचना भएको छ । सत्ता साझेदार काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थीले तोडफोडको विरोध गरेका छन् ।
समाजवादीले तोडफोड घट्नालाई समान्य रुपमा लिएर प्रश्नपत्र त्रुटीलाई गम्भीर भन्दै जाहेरीमा परीक्षा नियन्त्रण कार्यालयको लापरवाही रोक्न तालाबन्दी गरिएको प्रष्टीकरण दिइएको छ ।
प्रहरीमा जाहेरी परेपछि नेता कार्यकर्ता पक्राउ पर्ने डरले समाजवादीले प्रमुख जिल्ला अधिकारीलाई जाहेरी दिएर प्रहरीमाथि दबाव बढाउन खोजिएको प्रशासन कार्यालयका एक अधिकारीले बताए । ‘प्रहरीमा जाहेरी परीसकेपछि प्रशासन कार्यालयमा जाहेरी दिएर पक्राउलाई रोक्न सकिन्छ कि भन्ने आश होला’ ती अधिकारीले भने ।
प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले पनि शान्ति सुरक्षाको विषय आफ्नो क्षेत्राधिकार भएकाले त्यसलाई हेर्न सकिने जवाफ दिएर प्रहरी कारवाहीमा अवरोध पुगाउन सकिने संकेत दिएका छन् ।
‘शान्ति सुरक्षाको क्षेत्र आफ्नो क्षेत्राधिकार भएकाले त्यसलाई हेर्न सकिन्छ, विश्वविद्यालय स्वायत्त संस्था भएकाले विश्वविद्यालय आफैले यसमा हेर्नु पर्ने हो’ उनले भने ।