महेन्द्रनगर । विगतझै यस वर्ष पनि भीमदत्त नगरपालिका ८ तिलाचौरमा बिसरती मेला आयोजना तयारी गरिएको छ । कृष्ण जन्माष्टिको अवसर पारी स्थानीय हरेक वर्ष भदौ २० गते धुमधामसंग मेला मनाउँदै आएका छन् ।
‘यस वर्ष पनि अन्य वर्षझै धुमधामसंग मेला मनाउँछौ, यो वर्ष जहिले पनि भदौ २० गते नै मनाउने गर्छौ’ स्थानीय लाल बहादुर थापाले भने,‘भदौ २० गते भन्दा तलमाथि अहिलेसम्म कुनै पनि दिन भाको छैन ।’
देवी देवताले महिसासुर दानवको अत्याचारबाट मुक्ति पाएको दिनलाई बिसरतीका मेलाका रुपमा धुमधामसंग मनाउने गरिएको किवदन्ती भएको स्थानीय बताउँछन् । ‘यो दिन असत्यमाथि सत्यको जित भएको दिन हो, यो एकदमै खुसीको दिन हो, त्यो खुसीका रुपमा मेला मनाउने गर्छौ’ स्थानीय थापाले भने, ‘अब भय छैन, डर छैन, यो बाहेक अरु केही खुसीयाली छैन भन्ने ठानेर मेला मनाउँछौ ।’
थापाका अनुसार ९ देवीदेवताले महिसासुर राक्षसको अत्याचारबाट मुक्ति पाएका अन्य तीन दिन पनि खुसीका रुपमा मनाउने गरिएको बताए । भदौ २० गते हुने मेला अघिका तीन दिन दिनमा माघ १६ गते, फागुन १६ गते र जेठ २० गते छन् । यी तीन दिनमा दुर्गा माताको पूजाआजा गरी मनाउने गरिएको छ ।
तिलाचौरमा बझाङ्ग पुख्र्यौलीका स्थानीयले पाँच दशकदेखि बिसरती मनाउँदै आएका हुन् । बझाङ्गमा चार गर्खा(गाउँ) वासिन्दाले मेला मनाउने गर्थे । अहिले बझाङ्ग बाहेक अन्य जिल्लाका वासिन्दाले पनि बिसरती मनाउने गरेका छन् ।
यस वर्ष ५१ औं मेला मनाउन लागिएको हो । दुर्गा मन्दिर व्यवस्थापन समिति र वडा कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी मेला सम्बन्धि जानकारी दिएको छ ।
मन्दिर समितिका अध्यक्ष एवम् मेला आयोजना समितिका संयोजक नारायणदत्त मिश्रले विगतका वर्षझै यस वर्ष पनि धुमधामसंग मेला मनाउने तयारी गरिएको बताए । ‘यो मन्दिरबाट जात लगेर तिलाचौर स्कुल प्राङ्गणमा रातभरि धुमधामसंग मेला मनाएर बिसर्जन गर्छौ’ उनले भने ।
पत्रकार सम्मेलनमा संयोजक मिश्रले हिन्दू धर्ममाथि चौतर्फी आक्रमण भएकोमा चिन्ता व्यक्त गरे । ‘गाईलाई संविधानमा राष्ट्रिय जनावर मानेको छ, अहिले त्यहीं गाईलाई काटेर खाने काम भएको छ, संविधानले गाईको रक्षा गर्ने कुरा गरेको छ’ उनले भने,‘यो हिन्दू धर्ममाथि आक्रमण हो, यो मेलाबाट हिन्दू धर्म संस्कृति रक्षामा पनि सहयोग पुग्छ ।’
बुधबार तिलाचौरमा हुने मेला अघि नै दुर्गा मन्दिरमा पूजापाठ सुरु गरिएको छ । सोमबारदेखि दुर्गा मन्दिरमा ब्रत बसेका वासिन्दाले पूजापाठ सुरु गरि सकेका छन् । ‘मेला मात्रै २० गते हुने हो, अरु पूजापाठ त आजदेखि नै सुरु भई सक्यो’ स्थानीय थापाले भने,‘ब्रत बसेकाहरु आज, भोलि र बाँकी रहेका पर्सिसम्म पूजापाठ गर्छन् ।’
भीमदत्त नगरपालिका १० स्थित दुर्गा मन्दिरबाट बुधबार दिउँसो देबीदेवताका गीत र नृत्य सहित चा भाई तिलाचौरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा पुगेपछि बिसरती मेलाका रुपमा परिणत हुनेछ ।
‘मन्दिरमा विहानदेखि दिउँसो २÷३ बजेसम्म पूजापाठ हुन्छ, त्यसपछि २÷३ बजे चा भाई सुरु हुन्छ’ तिलाचौरका स्थानीय नेपाली सेनाका पूर्व सेनानी गोरख पूजाराले भने,‘तिलाचौरसम्म पुग्न २÷३ घण्टा लागि हाल्छ, त्यहाँको चौतारामा पुगेपछि ढुस्को खेलिन्छ, त्यो ढुस्को नै बिसरती मेलामा बदलिन्छ ।’
बिहीबार विहानसम्म चल्ने मेलामा रातभर स्थानीयले देउडा खेल्ने गरेका छन् । यस वर्ष देउडाका लागि ११ जना देउडा कलाकारलाई आमन्त्रण गरिएको पुजाराले बताए । देउडामा कलाकारलाई सम्मान गरिने कार्यक्रम राखिएको छ । ‘कलाकार सबैलाई आमन्त्रण गरि सकेका छौ’ उनले भने ।
भीमदत्त नगरपालिका ८ र दुर्गा मन्दिर व्यवस्थापन समिति मेला तयारीमा लागेका छन् ।
भीमदत्त नगरपालिका ८ का अध्यक्ष मदनराज मिश्राले बिसरती मेला सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण साँस्कृतिक पर्व भएकाले धुमधामसंग मनाउने गरिएको बताए ।
वडा कार्यालयले मेलालाई भव्य बनाउने आवश्यक सबै सहयोग उपलब्ध गराएको अध्यक्ष मिश्रको भनाई छ ।
मेलालाई मध्यनजर गरी विद्यालय आशपासका क्षेत्रमा एक सय बल्ब जडान गर्न लागेको छ । मेलाको सुरक्षाका लागि बल्ब जडान गर्न लागिएको बताइएको छ ।
वडा कार्यालयले जिल्ला बाहिरबाट आउने सहभागीलाई खाना खुवाउने व्यवस्था गरेको छ । मेलामा सहभागीले यस वर्ष पानी किनेर खानु नपर्ने भएको छ ।
वडा कार्यालयले मेला स्थलमा चार ओटा धारा जडान गरेको छ । विगतका वर्षमा खानेपानीको धारा नभएर स्थानीयले पानी किनेर खानु पर्ने बाध्यता भएको मेला आयोजक समितिका संयोजक मिश्रले बताए ।
‘यस पटक पानी किनेर खानु पर्ने बाध्यता हुँदैन, चार ओटा धारा जडान गरिएको छ’ उनले भने ।
मेलालाई शान्तिपूर्ण बनाउन सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयसित छलफल गरिएको छ । प्रशासन कार्यालयले मेलाका लागि चाहिने सुरक्षा व्यवस्था उपलब्ध गराउने आश्वासन दिएको छ ।
मेला आयोजक समितिले पनि शान्ति सुरक्षा सहित व्यवस्थापनका लागि जगत बहादुर धामीको संयोजकत्वमा स्वयम् परिचालन समिति बनाएको छ ।
भीनपा ८ का वडा सचिव हरि प्रसाद मिश्रले मेलालाई धुमधामसंग शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि स्थानीय प्रशासन, स्थानीय सरकार लगायतका सरोकारवाला निकायसित समन्वय गरिएको बताए ।