–डिल्लीराज पन्त
महेन्द्रनगर । भीभमदत्त, पुनर्वास , बेलौरी , दोधारा चाँदनी नगरपालिका लगायत सीमाक्षेत्रका स्थानीयले भारतीय सुरक्षाकर्मीको दादागिरीका कारण सीमामा वस्ने नेपालीहरुले जमिन खनजोत तथा भोगचलन गर्न पाएका छैनन् ।
खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका बेलौरी नगरपालिका १० सडकघाटका हरिलाल चौधरीको साथमा आफ्नै जग्गाको लालपुर्जा छ । तर, उनले जग्गा भने उपभोग गर्न पाउँदैन । उनको हातमा भएको लापुर्जाको जग्गा विगत ३ वर्षदेखि भारतीय एसएसबीले खनजोत गर्न सम्म गर्न दिएका छैनन् ।
२०२८ सालदेखि उनीले त्यो जग्गाको भोगचलन गर्दै आएका थिए । तर, २०७६ सालपछि उक्त क्षेत्र भारतमा पर्ने भन्दै भारतीय एसएसबीले पटक पटक जग्गा खनजोत गर्न नदिएको हरिलाल चौधरी बताउँछन ।
दशकौदेखि बस्दै आएको ठाउँमा नेपाल सरकारले जग्गा नापेर उनीहरूलाई लालपुर्जा दिएको थियो । उनीहरुकोे हातमा अहिले पनि लालपुर्जा त छ । तर, जग्गा भोगचलन भने गर्न पाएको छैनन् ।
हरिलाल चौधरी जस्तै बेलौरी नगरपालिका १० भुडा का बलिराम चौधरीलाई पनि गत बैशाखमा एसएसबीका जवानले आफ्नै जमिन जोत्न रोकेका थिए ।
एसएसबीले बलिराम चौधरीकोे खेतमै सीमा पिल्लर राख्न खाल्डो समेत बनाएको र आफुहरुले पिल्लर राख्न नदिएको बताउँदै लालपुर्जा भएको आफ्नो भूमि भारतीयले खनजोत तथा भोगचलन गर्न नदिँदा सरोकारवाला निकायले चासो नदिएको गुनासो गर्दै आफ्ना बाजे बुवाले उपभोग गर्दे आएको जमिन चलनभोग गर्न पाउँदैनौ भने हामी पुख्र्यौली जग्गाको लागी शहिद हुन समेत पछि नपर्ने भन्दै आक्रोश पोखेका छन् ।
सीमा विवादकै कारण कञ्चनपुरमा गोविन्द गौतमले शाहदत प्राप्त गरिसकेका छन । २०७३ फागुन २६ गते पुर्नवास नगरपालिकाका आनन्द बजारका गौतमले आफ्नो जग्गाकै लागि विवाद हँुदा भारतीय एसएसबिको गोली लागेर सहिद भएका थिए ।
आफ्नै जग्गामा अर्कैको हालीमुहाली भए पनि वर्षेनी सरकारलाई कर भने उनीहरुले तिर्दै आएका छन् । २०२८ सालदेखि बसोबास गर्दै आएका आफूहरु भारतीयहरुको हेपाहा तथा रवैया प्रवृति पटक पटक सहँदै आएको बताउदै नेपाल सरकारले भारतिय पक्ष संग सिमा सम्वन्धि विवाद सुल्झाउन ठोस पहल गर्न नसकेको स्थानिय देव सिंह थापा बताउँछन ।
दोधारा चाँदनी नगरपालिकाको वडा न ८ सुन्दर टोलमा पनि एसएसबीले हरेक बर्ष खेती लगाउने समयमा किसानलाई निकै सताउने गरेको छ ।
एसएसबी कहिले लगाएको खेतिपाती नै उखेलेर फालिदिन्छ भने कहिले जमिन नै खनजोत गर्न दिँदैन । भारतीय पक्षले कतै सडक निर्माणमा अवरोध गर्दै आएका छन भने कतै नेपालि भुभागमा विद्युत लाईन विस्तार गर्न दिदैनन । उनीहरुको यो ज्यादती मा समेत सरकार भने मुकदर्शक बनेको देखिन्छ ।
सरकारले सीमा विवाद समाधान गरेर आफूहरुलाई न्याय छिट्टै दिलाइदिओस् भन्ने स्थानीयको अपेक्षा छ । हातमा लालपुर्जा रहेको जमिन भारतीय पक्षले दाबी गरेपछि आफुहरु अचम्मित भएका सिमा सरोकार संघर्ष समितिका सचिव गोपाल पन्त बताउँछन् ।
भारतीय पक्षको हेपाहा प्रवृत्तिको विरोधमा सरकारको कुनै पनि तहले आवाज उठाउन तदारुकता देखाउन सकेको छैन । पटक पटकको उच्व स्तरिय मन्त्री मण्डलमात्रै हैन हालै प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको टोली भारत भ्रमण गरेर आएपनी सिमा सम्वन्धि कुनै पहल नै नगरी टोली स्वदेश फर्केको थियो । हाल सरकारमा रहेका पर राष्ट्र मन्त्री एन पि साउदको गृह जिल्लानै कञ्चनपुर भए पनि उनले उनले समेत सीमाबारे वार्ता नै नगरी स्वदेश फर्केका थिए ।
भीमदत्त नगरपालिका ,दोधारा चांदनी नगरपालिका, बेलडाँडी गाउपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकामा लामो समयदेखि सीमा विवाद रहिआएको छ । तीन वर्षअघि संयुक्त सर्वेक्षण टोलीले स्ट्रिप नक्साअनुसार नापी गर्न थालेपछि झनै विवाद बढेको सिमा सरोकार संघर्ष समितिका संयोजक पल्लव राज भट्टले बताए ।
संयुक्त टोलीले नापी गर्दा नेपालतर्फका दर्ता जमिनसंगै महाकाली सिँचाइ आयोजनाको नहरसमेत भारतमा पर्ने देखिएपछि स्थानीयले विरोध गरेपछि नापी कार्य स्थगित भएको संयोजक भट्ट बताउँछन ।
बर्षौ देखि पटक पटक सीमा विवाद भईरहने र भारतीय पक्षबाट नेपाली हेपिने प्रवृति रोक्न तथा सीमा विवादको दिर्घकालिन समाधानका लागि सरकारी पक्षबाट उच्व स्तरिय कुटनितिक पहल थाल्नु जरुरी भएको स्थानीय बताउँछन् ।