भीमदत्त नगरपालिका : प्रतिपक्ष मौन, सत्ता पक्ष विरोधमा

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा प्रतिपक्षीलाई मतबल नभएपछि सत्ता पक्षका जनप्रतिनिधि मेयर पदम बोगटीको विरोधमा उत्रिएका छन् । प्रतिपक्षीले विरोध गर्न सक्ने अवस्था नदेखेर सत्ता पक्ष काँग्रेसका जनप्रतिनिधि भीमदत्तमा गलत काम विरुद्ध बोल्न थालेका छन् ।

भीमदत्तमा काँग्रेस कञ्चनपुर जिल्ला सभापति पदम बोगटीको नेतृत्वमा काँग्रेसको पूर्ण बहमुत सरकार छ । भीमदत्तको कार्यपालिका र नगर सभा दुबैमा बोगटी पूर्ण बहुमतमा छन् । तीन एमाले र दुई माओवादी गरी पाँच वडा अध्यक्ष बाहेक सबै मेयर बोगटी काँग्रेसका वडा अध्यक्ष छन् ।

स्थानीय तह निर्वाचनबाट निर्वाचित भएपछि बोगटीलाई हालसम्म प्रतिपक्ष भन्दा आफ्नै दलका जनप्रतिनिधिबाट विरोधको सामना गर्दै आएका छन् । गत असारमा प्रमुख प्रशासकीय अधिकृत यामनारयाण गौलीको सहजीकरणपछि मात्रै नगर सभा भएको थियो । मेयर र उप मेयरले नगरपालिकामा डल्लो बजेट थुपार्न खोजेपछि काँग्रेसका केही जनप्रतिनिधिले नगर सभा रोक्ने अन्तिम तयारी गरेका थिए ।

अहिले महाकाली नदीको रोयल्टी ठेक्कामा काँग्रेसका कार्यपालिका सदस्यले गम्भीर असन्तुष्टि जनाएका छन् । काँग्रेसको निर्वाचन क्षेत्र नं. ३(क) का प्रदेश सभा सभापति पदमराज अवस्थीले सार्वजनिक रुपमा असन्तुष्टि पोखेपछि मेयर बोगटी चौतर्फी आलोचनामा परेका छन् । काँग्रेसका पूर्व जनप्रतिनिधिले उनलाई ठेक्का लगाउने हिम्मत नभएको भन्दै आलोचना समेत गरेका छन् ।

भीमदत्तको कार्यपालिकाका एमालेका तीन वडा अध्यक्ष छन् । उनीहरुमध्ये भीनपा १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले नगरपालिकाको गलत निर्णय विरुद्ध सडकमा धर्ना दिएका थिए । त्यस बाहेक उनले केही कार्यपालिका बैठक समेत बहिस्कार गरेका थिए । राष्ट्रिय युवा संघको अधिवेशनमा एमाले कार्यकर्ताबाट आक्रमणमा परेका उनी अहिले घरमा आराम गरि रहेका छन् ।

माओवादी केन्द्रबाट निर्वाचित दुई वडा अध्यक्ष मेयर बोगटी विरुद्ध अहिलेसम्म देखिएका छैनन् । सत्तारुढ गठबन्धनमा आवद्ध भएकाले उनीहरु मौनता साँधेर बसेको नेताहरु बताउँछन् ।

छाडा पशु चौपाया व्यवस्थापनमा माओवादी केन्द्रका नेता कृष्णदत्त जोशी बोक्सर आन्दोलनमा सहभागी भए पनि त्यसपछि उनी चुपचाप लागेका छन् । स्थानीयले गत वर्ष छाडा पशु चौपाया लैजान स्थानीयलाई जोशीले साथ दिएका थिए । त्यसपछि नगरपालिकाले उनी सहित छलफल गरी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको थियो ।

नगरपालिकामा भएको छलफलपछि जोशी चौपाया व्यवस्थापनका लागि भन्दै शुक्लाफाँटामा मेयर बोगटीसंगै घाँस काटि रहेको तस्बिर बाहिर आएका थिए । हरिशरण महाराजको लोक कल्याणकारी ट्रस्टको अध्यक्ष भएपछि उनी विभिन्न धार्मिक कार्यक्रममा व्यस्त हुने गरेका छन् ।

लोक कल्याणकारी ट्रस्टको आग्रहमा नगरपालिकाले यस वर्ष चौपाया व्यवस्थापनका लागि एक करोड बजेट विनियोजन गरेको छ । यस अघि पनि ट्रस्टले बजेटका लागि पटक पटक आग्रह गरेको थियो । जोशी स्थानीय तह निर्वाचनमा भीमदत्तको उप मेयरमा माओवादी केन्द्रमा चुनाव लडेका थिए ।

स्थानीय चुनाव लडेका कारण जोशीले भीमदत्तको गलत कामको विरोध गर्ने नगर वासिन्दाले अपेक्षा गरेका थिए । छाडा पशु चौपाया नगरपालिका पुगाएपछि स्थानीयले जोशीले आन्दोलनको नेतृत्व गर्ने आश राखेका थिए ।

एमालेबाट स्थानीय तह निर्वाचन लडेका महेश पन्त र भुवन कुँबर सुरुदेखि मौनता साँधेर बसेका छन् । चुनावमा फराकिलो मत अन्तरले पराजित उनीहरु दुबैले प्रतिपक्षीको धर्म निर्वाह गर्नु पर्ने चुपचाप भएर बसेका छन् । एमालेबाट चुनाव लडेर हारेका अधिकाँश वडा अध्यक्ष र सदस्यका उम्मेदवार पनि चुपचाप बसेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्द पनि चुपचाप देखिएका छन् ।

प्रतिपक्षी चुपचाप बसेपछि बाध्य भएर आफूहरुले विरोध गर्नु परेको काँग्रेसका जनप्रतिनिधि बताउँछन् । ‘प्रतिपक्षीले विरोध गरेको भए राम्रो हुन्थ्यो, चुप लागेर बसेका छन्, कोही नभए हामीले गर्नु पर्ने भो ’ ती जनप्रतिनिधिले भने ।

सम्बन्धित
Loading...