
डिल्लीराज पन्त
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानिय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्यलाई रोक लगाएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी आफ्नो क्षेत्रभित्रका सबै नदी तथा खोलामा अर्को निर्णय नभएसम्मका नदीजन्य पदार्थ उत्खनन, संकलन र वितरणमा रोक लगाएसंगै गिट्टी, बालुवा जानेर जीविकापार्जन गर्ने मजदुर तथा निर्माण व्यवसायी मारमा परेका छन् ।
महाकाली नदीमा ठेक्का नगरी अमानतबाट राजश्व संकलन गरिएको भन्दै व्यापक विरोध भएपछि नगरपालिका रोक लगाउने निर्णय गरेको थियो । भीमदत्तका कार्यपालिका सदस्यले तथा स्यानिय वडा कार्यालयले अमानतबाट राजश्व संकलनको विरोध गरेका थिए ।
सूचनामा महाकाली नदीको वातावरणीय प्रभाव मूल्याङ्कन(इआए) सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयमा अध्ययनका क्रममा रहेको तथा अन्य खोलाको आइई संशोधनका क्रममा भएकाले ठेक्का बन्दोवस्ती गर्न समय लाग्ने उल्लेख गरिएको छ ।
समयमै नदिजन्य पदार्थको उत्खनन प्रकियामा नगरपालिकाले ठेक्का नलाईदिदा स्थानिय स्तरका मात्र्रै नभई विकास निर्माणका ठुला योजना समेत प्रभावित भएका छन ।
निर्माण व्यवसायि संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले नगरपालिकाका जनप्रतिनिधिको लापरवाही, ढिलासुस्ती र केही व्यक्तिको कमाउ धन्दाका लागि निर्माण व्यवसायिहरुलाई मारमा पारेको र अविलम्व महाकाली लगायत जिल्लाका ठूला साना खोलामा नदीजन्य पदार्थको ठेक्का लगाउन माग गरेको बताएका छन ।
साथै अध्यक्ष भट्टले समययमै ठेक्का सम्झोता नगरे संघ कडा आन्दोलनमा उत्रिने र नगरपालिकामा तालावन्दी गरी सवै सेवा ठप्प पार्ने चेतावनी दिएका छन ।
भीमदत्त नगरपालिकाले गत फागुनमा महाकाली नदीको इआएका लागि सार्वजनिक सूचना गरी परामर्शदाता नियुक्त गरेको थियो । परामर्शदाताले दुई महिना अघि मन्त्रालयमा बुझाएको प्रतिवेदन स्वीकृत नभएर ठेक्का लगाउन नसकिएको हो नगरपालिका कार्यालयले जनाएको छ ।
जिल्लामा रहेका माहाकाली नदीसंगै साना ठूला खोलामा हरेक वर्ष भदौ महिनामै ठेक्का सम्झौता भई असोज १ गतेदेखि नदीजन्य पदार्थको उत्खनन हुने भए पनि यस वर्ष भने असोज पहिलो साता वित्न लाग्दा समेत ठेक्का प्रक्रियामा समेत जान सकेको छैन ।
महाकाली नदि वगरमा बालुवा गिट्टि छानेर दैनिक गुजारा गर्ने तटिय क्षेत्रका वासिन्दा काम नखोल्दा हैरान भएका छन । बेला त्यहि गिट्टी, वालुवा छानेर चाड वाडका मनाउने र बाल वच्चाका लागि बालबालिकाका लागि स्कुल खर्चा लत्ता कपडाका जोहो गर्दै आउने भए पनि यस वर्ष काम गर्न नपाउँदा दैनिक छाक टार्नै समस्या भएको स्थानिय मजदुर बताउँछन् ।
रोयल्टी ठेक्का अमानतामा लगाएको भन्दै विरोध भएपछि सोमबार भीमदत्तका मेयर पदम बोगटी र प्रमुख प्रशासकीय अधिकृत गौली सहित कर्मचारी मन्त्रालय पुगेका थिए ।
तर मन्त्रालयमा समेत समयमै काम अघि नवढ्ने भएपछि नगरपालिकाको नदी तटीय क्षेत्रमा रहेका वडाहरुका स्थानिय जनप्रतिनिधिले समेत नगरपालिकाले गरेको निर्णयको विरोध गरेका छन । उनीहरुले पटक पटक कार्यापालिकाका ठेक्का प्रक्रियामा जानका लागि पहल थाल्न सुझाव दिदै आएको भएपनी नगरपालिकाले विभिन्न बहाना देखाएर पन्छिन खोजेको आरोप लगाएका छन ।
असोज १ गते नै खोल्नुपर्ने घाटहरु समयमै नखोल्दा आफुहरुले जर्वजस्ती नदिजन्य पदार्थ उठाउनु पर्ने बाध्यता सिर्जना भएको बताँउदै एक साताभित्र समस्या समाधान नगरे सवै ढुवानी व्यवसायी नगरपालिका स्थानिय सरकार र प्रदेश सरकार विरुद्ध आन्दोलनमा जाने र सो बाट हुने क्षतिको जिम्मा भीमदत्त नगरपालिकाले लिनु पर्ने भन्दै ढुवानी व्यवसायीहरुले आक्रोश व्यक्त गरेका छन ।
भीमदत्त नगरपालिकाले अर्को निर्णय नभएसम्म तत्काल अमानतबाट राजश्व संकलन गर्न रोक लगाउने निर्णय सूचना जारी गरी सार्वजनिक गरेको छ ।
नदीजन्तय पदार्थ उत्खनन, संकलन र वितरणका लागि ठेक्का बन्दोवस्तीका लागि केही समय लाग्ने र मन्त्रालयका सचिव सरुवा भएकाले इआए प्रतिवेदन स्वीकृत हुन ढिलाई हुन सक्ने भएकाले अझै १५ दिन लाग्न सक्ने भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए ।
