महेन्द्रनगर । अवैध काठ कटानी मुद्दामा पक्राउ गरिएका बेलौरी नगरपालिका ६ का वडा अध्यक्ष भोजराज चौधरीलाई जमानी हाजिरीमा छाडिएका छन् । डिभिजन वन कार्यालयले दुई महिना अघि बेलौरी छोटी भन्सार क्षेत्रमा रुख काटिएपछि आइतबार वडा अध्यक्ष चौधरीलाई पक्राउ गरेको थियो ।
डिभिजन वनले वडा अध्यक्ष चौधरीमाथि सरकारी वकिल कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको थियो । सरकारी वकिल कार्यालयसित सल्लाह गरी वडा अध्यक्ष चौधरीलाई बुधबार हाजिरी जमानीमा छाडिएको छ ।
गत साउन १३ गते वडाको अगुवाईमा भएको झाडी सरसपाईका क्रममा भन्सार कार्यालय परिसरका केही रुख काटिएका थिए । डिभिजन वनले सरसफाईको नेतृत्व गरेका कारण वडा अध्यक्ष चौधरीलाई पक्राउ गरेको थियो ।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कँडेलले सरकारी वकिल कार्यालयको राय अनुरुप वडाध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरेको बताए ।
सोमबार भने डिभिजन प्रमुख कँडेलले रुख कटानीमा संलग्नलाई अन्यलाई पनि पक्राउ गरिने बताएका थिए । सत्ता गठबन्धनको दबावमा वडा अध्यक्षलाई मात्रै पक्राउ गरएको भन्दै वन अधिकृत कँडेलको आलोचना भएको थियो । वडा अध्यक्ष चौधरी एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
कैलाली भन्सार कार्यालय मातहत रहेको बेलौरी छोटी भन्सार कार्यालय सञ्चालनका लागि सरसरफाई गरिएको थियो । दुई वर्षदेखि भन्सार कार्यालयमा ताला लगाइएको छ ।