
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाले पत्रकारलाई कार्यपालिका बैठकमा सहभागी गराउने भएको छ । मेयर किशोर कुमार लिम्बुले कार्यपालिका बैठकको भिडियो खिच्नका लागि पत्रकारलाई बैठकमा सहभागी गराउने घोषणा गरेका छन् ।
मेयर लिम्बुले फेसबुकबाट कार्यालिका बैठकको भिडियो खिच्ने पत्रकारका लागि बजेट व्यवस्थापन गर्ने सार्वजनिक गरेका छन् । उनले ती पत्रकारले खिचेका भिडियोलाई जनतासम्म पुगाउने चेतावनी दिएका छन् ।
दोधारा चाँदनी नगरपालिका कार्यपालिकामा सहभागी विपक्षी दलले कार्यपालिका बैठक अवरुद्ध गरेपछि मेयर लिम्बुले फेसबुकबाट बैठकमा पत्रकार सहभागी गराई भिडियो खिचाउने घोषणा गरेका छन् ।
गत असारमा भएको नगर सभा सञ्चालनका लागि मेयर लिम्बुसित गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै विपक्षी दलले कार्यपालिका बैठक अवरुद्ध गरेका हुन् ।
तीन घण्टासम्म चलेको बैठकमा सत्ता पक्ष एमाले र प्रतिपक्षी दलबीच झण्डै हात हालाहालको अवस्था भएको थियो ।
