ghar sansar

दोधारा चाँदनीमा बैतडीका दयालको शंकास्पद मृत्यु, शव बुझ्न अस्वीकार

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ५ स्थित माननीय चौराहास्थित बेताल निर्माण सेवा कम्पनीका मजदुर लक्ष्मण दयालको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।

बुधबार निर्माण कम्पनीको कार्यालयमा करेन्ट लागेको मृृत्यु भएको भन्दै प्राथमिक स्वास्थ केन्द्रमा शवको पोष्ट मार्टम गरिएको थियो । त्यसपछि शव बुझ्न कागजपत्र तयार गरिएपछि उनका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।

उनीहरु मृत्युको छानबिन गर्न माग गर्दै प्रहरीमा किटानी दिने तयारी गरेका छन् । मृतक दयालको शव अहिले दोधारास्थित प्राथमिक स्वास्थ्य केन्द्रको शव गृहमा राखिएको छ ।

मृतक दयालका आफन्त करन दयालले मृत्यु भएपछि घर परिवारलाई जानकारी नदिई पोष्ट मार्टम गरिनु शंकास्पद भएकाले आफूहरुले मृत्युको छानबिन नभएसम्म शव नबुझ्ने बताए ।

‘करेन्ट लागेर मृत्यु भयो भनिएको छ, घर परिवारलाई जानकारी नदिई अस्पताल लगेर पोष्ट मार्टम गराउँदासम्म जानकारी दिइएको छैन, यस्तो गुपचुप राखेर पोष्ट मार्टम गराउँदा शंस्कापद देखियो’ उनले भने ।

दयालका आफन्तले उनकी श्रीमतिलाई पेटमा पानी भरिएकाले अस्पतालमा उपचारका लागि भर्ना गरिएको बताए पनि उनको त्यस अघि नै मृत्यु भएको दावी गरेका छन् ।

प्रहरीले घट्ना स्थलको मुचुल्का नगरी स्वास्थ्य केन्द्रमा पोष्ट मार्टम गरिएकाले पनि घट्ना शंकास्पद देखिएको उनका आफन्तहरु बताउँछन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्ट मार्टमका क्रममा शरिरबाट रगत निस्केको बताइएको छ । करेन्ट लागेर मृत्यु भएको व्यक्तिको शरिरबाट रगत निस्कन नसक्ने चिकित्सकको भनाई छ ।

प्रहरी मुचुल्का विना पोष्ट मार्टम गरिएकाले चिकित्सकप्रति पनि दयालका आफन्तले आशंका गरेका छन् । स्वास्थ्य केन्द्रका कर्मचारीहरुले भने मृतक दयालको आफन्त कोही नभएकाले पोष्ट मार्टम गरि दिन दबाव आएको बताएका छन् ।
स्वास्थ्य केन्द्रमा उनलाई एम्बुलेन्सबाट ल्याइएको थियो ।

बैतडीको मेलौलीका दयाल केही वर्षदेखि निर्माण कम्पनीमा काम गर्दै आएका थिए । उनी दोधारा चाँदनीमा ५÷६ महिनादेखि काम गर्र्दै आएका छन् ।

निर्माण कम्पनीका मजदुरले भने उनले माछा मार्न जाउ भन्ने कुरा गरेको तर एक छिनपछि आवाज आएको बताएका छन् ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले पनि माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको कागजपत्र तयार गरेको दयालका आफन्तहरुले बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...