महेन्द्रनगर । नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरका सचिव बीरेन्द्र बहादुर महरालाई शुक्लाफाँटा नगरपालिका–११ का नरेन्द्र साउँदले गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका छन् ।
बेदकोट नगरपालिकाका महराको न्यू सैपाल ट्रेडर्स एण्ड सप्लायर्सबाट साउँदले खरिद गरेका कुखुराका चल्ला र दाना खरिदको भुक्तानीका लागि दिइएको चेक अनादर भएर बैकिङ्ग कसुरमा उनकी पत्नि विपना साउँद पक्राउ परेपछि ज्यान मार्ने धम्की दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयले साउँदकी पत्नीलाई बैंकिङ कसूरमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ । कुखुराको दाना र चल्ला कारोबारमा ७ लाख ४० हजारको चेक बाउन्स भएपछि विपना प्रहरी हिरासतमा पुगेकी छन् ।
पत्नी हिरासतमा पुगेपछि आक्रोशित भएका नरेन्द्रले महरालाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका छन् । हाल काठमाडौंमा रहेका महराले आफूलाई धम्की दिइएको र आफ्नो गाडीमा आगजनीको प्रयास भएको जानकारी दिए ।
‘बुधबार राति १० बजेतिर गाडीमा आगो लगाउने प्रयास गरिएकोमा दैजी प्रहरीको टोलीले आगो निभाएको छ,’ उनले भने, ‘मलाई फोन गरेर धम्की र गालीगलौज भइरहेको छ ।’
गाडीमा आगजनी गरिएकोबारे प्रहरीमा ठाडो निवेदन दिइसकेको सञ्चालक महराले जानकारी दिए ।