ghar sansar

बेदकोटमा राहत शिक्षक छनौट परीक्षा विज्ञ सदस्यद्वारा बहिस्कार

Amity

महेन्द्रनगर । बेदकोट नगरपालिका १ स्थित गणेश आधारभूत विद्यालयमा राहत शिक्षक नियुक्तिको प्रक्रिया छनौट समितिका विज्ञ सदस्य बहिस्कार गरेपछि परीक्षा स्थगित भएको छ ।

दुई महिनादेखि रिक्त राहत शिक्षक पदपूर्तिका लागि बुधबार परीक्षा राखिएको परीक्षा विज्ञ सदस्य सत्या रोकायाले बहिस्कार गरेकी हुन् ।

lotus institite

विद्यालय व्वस्थापन समितिको सिफारिशमा शिक्षक छनौट समितिमा रोकाया सहित दुई जनालाई शिक्षा विकास तथा समन्वय इकाईले विज्ञ सदस्य नियुक्त गरेको थियो । छनौट समितिमा विज्ञ सदस्य बाहेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र नगरपालिकाका शिक्षा अधिकृत सदस्य छन् ।

परीक्षा सञ्चालनका लागि समितिका सबै सदस्य परीक्षा केन्द्रमा पुगेपछि रोकायाले आफू परीक्षा आउन असमर्थता देखाएकी हुन् । उनले समितिका सदस्यलाई फोन गरी आफू सहभागी हुन नसक्ने र अन्य विकल्प खोज्न जानकारी गराएकी थिइन् ।

सबै तयारी पूरा गरी परीक्षा सञ्चालन हुने बेलामा विज्ञ सदस्य नआएपछि समितिका सदस्य र परीक्षार्थी एकाएक अन्यौलमा परेका थिए । शिक्षकका लागि ११ जना परीक्षार्थी केन्द्रमा पुगेका थिए । समितिका सदस्यले रोकायालाई जसरी पनि परीक्षामा सहभागी हुनका लागि आग्रह गरेको थियो । परीक्षार्थीका आफन्तका अनुसार उनलाई राति ८ बजे पनि आएर परीक्षा सञ्चालनका लागि आग्रह गरिएको थियो ।

शिक्षक छनौट समितिका विज्ञ सदस्य एकाएक अनुपस्थित भएपछि शिक्षक नियुक्ति प्रक्रियालाई लिएर विभिन्न आशंका गर्न थालिएका छन् । परीक्षार्थीका आफन्तले परीक्षा निष्पक्ष रुपमा नहुने भएकाले नै विज्ञ सदस्य रोकाया अनुपिस्थत भएको हुन सक्ने बताए । विज्ञ सदस्य रोकायाले भने यसबारे आफ्नो धारणा बाहिर ल्याएकी छैनन् ।

‘विद्यालयले विश्वास गरी विज्ञ बनाएका सदस्य नै परीक्षा लिन आउँदैन भने यहाँ चलखेल हुँदैछ भन्ने देखिन्छ’ एक परीक्षार्थीका आफन्तले भने,‘यो निष्पक्ष परीक्षा हुँदैन भन्ने प्रष्ट प्रमाण हो ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करन मडैले विज्ञ सदस्य रोकायाले सञ्चो नभएको कारण देखाउँदै परीक्षा सहभागी हुन नपाएको बताए । ‘पहिला बस्छु, हुन्छ भन्नु भएको थियो, हिजो चाहिँ सञ्चो छैन भनेर भन्नु भयो’ उनले भने,‘अरु त केही भन्नु भएन, अब वहाँ नआएपछि अर्को विज्ञ राखेर परीक्षा गर्छौ ।’

विज्ञ सदस्य रोकायालाई बुधबार दिनभरि आउनका लागि आग्रह गरिएको अध्यक्ष मडैले बताए । शिक्षा विकास तथा समन्वय इकाईमा सिफारिश गरी नयाँ विज्ञ सदस्य नियुक्त गरी असोज २३ गते परीक्षा सञ्चालन गरिने अध्यक्ष मडैको भनाई छ ।

अध्यक्ष मडैले स्वच्छ र निष्पक्ष रुपमा शिक्षक नियुक्त गरिने बताए । ‘भन्ने के भन्छन्, मतलब छैन, यो गाउँ ठाउँमा एकले अर्कोलाई शंका गर्छन्, जसले राम्रो लेखेर पास हुन्छ, उही पास हुन्छ,’ उनले भने,‘पास हुने मान्छे कसको हो, के हो भन्ने हामीलाई मतलब छैन ।’

विद्यालय व्यवस्थापन समितिले रिक्त शिक्षक पदपूर्तिका लागि पहिला १५ दिने सूचना सार्वजनिक गरी प्रक्रिया सुरु गरेको थियो । १५ दिने सार्वजिनिक सूचनामा शिक्षक सेवा आयोगका करार सूची शिक्षक नआएपछि सात दिने सूचना राखेर खुला प्रतिस्पर्धाबाट पूर्ति गर्न लागिएको हो । सात दिने सूचना भने पत्रपत्रिकामा प्रकाशित नगरी शिक्षक छनौट प्रक्रिया अघि बढाइएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मडैले १५ दिने सूचना पत्रिका र त्यसपछिको दोस्रो सात दिने सूचना वडा कार्यालय सहितका निकायमा टाँस गरी शिक्षक नियुक्ति प्रक्रिया थालिएको बताए ।

‘पहिलो सूचना पत्रिकामा प्रकाशित गरिएको छ, दोस्रो टाँस गरिएको छ’ उनले भने,‘ पहिलो सूचीमा करार सूचीले थाह पाउन भनेर पत्रिकामा आयो, कोही आएनन, सूचना सबैलाई जानकारीका लागि सार्वजनिक गरिएको हो ।’

राहत शिक्षक पदका परीक्षार्थीका आफन्त भने करार सूचीलाई छल्ने गरी शिक्षक नियुक्ति प्रक्रिया थालिएको आरोप लगाएका छन् । विद्यालयका प्रधानाध्यापक पशुपति मल्लले शिक्षक नियुक्ति प्रक्रिया थालिएको बताइन् । ‘११ जनाले आवेदन दिएका छन्, परीक्षा गर्न बाँकी छ’ उनले भनिन् ।

बेदकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख मन्जु थापाले विज्ञ सदस्य नआएका कारण परीक्षा हुन नसकेको बताइन् ।

‘८ बजेदेखि परीक्षा थियो, म त ७ः३० बजे नै त्यहाँ पुगेको थिए, अचानक विज्ञ सदस्य नआउने कुरा गर्न भयो, त्यसपछि वहाँलाई आउन धेरै आग्रह ग¥यौ’ उनले भनिन्,‘मैले त राति ८ बजे पनि आउनु भनेको थिए, एकै छिनमा परीक्षा भई हाल्छ भनेको थिए, तर पनि आउनु भएन ।’

शिक्षा शाखा प्रमुख थापाले शिक्षक नियुक्ति स्वच्छ र निष्पक्ष रुपमा हुने भएकाले बाहिर गरिएका गलत प्रचारले नगरपालिकालाई केही फरक नपर्ने बताइन् ।

‘म गलत गर्दिन, गलत गर्न पनि दिदैँन’ उनले भनिन्,‘बाहिर गलत हल्ला फैलाएर पनि मलाई केही हुँदैन, हामी निष्पक्ष काम गर्छौ ।’

Himal dental
सम्बन्धित
Loading...