
पदक जितेर काठमाडौंबाट फर्किएका सालघारीका तीन तेक्वान्दो खेलाडीलाई वडा कार्यालयले गर्यो नगद सहित सम्मान


महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १८ ले चौथो नेपाल अफन इन्टरनेशनल तेक्वान्दो चेम्पियनशिपमा पदक जित्ने तीन खेलाडीलाई नगद सहित सम्मान गरेको छ । वडा कार्यालयले शनिबार विहान कार्यालयमा कार्यक्रम गरी पदक जित्ने वडाका तीन खेलाडीलाई नगद सहित सम्मान गरेको हो ।
काठमाडौंमा सम्पन्न चौथो नेपाल अफन इन्टरनेशनल तेक्वान्दो चेम्पियनशिपमा सहभागी भीनपा १८ का अमन दमाई, गौरव चौधरी र उर्मिला नाथले कास्य पदक जितेका थिए । उनीहरु तीनै जना भगतपुर सालघारीका हुन् ।

काठमाडौंबाट घर फर्केपछि उनीहरु तीनै जनालाई सम्मान गरिएको हो । वडा कार्यालयले जनही दुई हजार नगद सहित खादा र फूलमाला लगाएर स्वागत गरेको छ ।


भीनपा १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले उनीहरुलाई खादा लगाएर सम्मान प्रदान गरी नगद प्रदान गरे । कार्यक्रममा वडा अध्यक्ष देवकोटाले सालघारीको गरीब वस्तीका तीन जनाले अन्तर्राष्ट्रिय चेम्पियनशीपमा भाग लिएर पदक पाउन वडाका सबै वासिन्दाका लागि गौरबको विषय भएको उल्देख गर्दै आगामी दिनमा प्रगतिको कामना गरे ।
‘यो सालघारी वस्ती निकै गरीब छ, अभावै अभावमा बाँचेको छ, यो कुरा तपाई हामी सबैलाई थाह नै छ, यस्तो अभावमा बाँचेर पनि वहाँहरुले खेलकूदबाट वडा र वडा वासिन्दा र भीमदत्त नगरपालिकालाई राष्ट्रिय स्तरमा चिनाउनु भयो, यसका लागि म वहाँहरुलाई धन्यवाद दिन चाहन्छुु, साथै आगामी दिन थप प्रगति र सफलताको कामना गर्दछु’ उनले भने ।
वडा अध्यक्ष देवकोटाले वडामा खेलकूदको विकास र खेलाडी प्रोत्साहनका लागि वडाले कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रममा खेलाडी, उनका आफन्त, वडाका जनप्रतिनधि, वडा सचिव दिनेशराज भट्ट सहित स्थानीय सहभागी भएका छन् ।

