
महेन्द्रनगर । गड्डाचौकीस्थित सशस्त्र प्रहरीले चौकी सोताबाट नियन्त्रणमा लिएर एक बाख्रालाई गड्डाचौकी भन्सार कार्यालय चलान गरेको छ । भन्सार छलेर अवैध बाटोबाट बाख्रा ल्याउन लागिएकाले नियन्त्रणमा लिएर भन्सारलाई बुझाइएको छ ।
भन्सारलाई बुझाएको बाख्रो विरामी छ । बाख्रालाई लिएर सशस्त्र प्रहरी भन्सार आएपछि कर्मचारी आश्चर्यमा परे । उनीहरुले बाख्रालाई बुझेर भन्सार कार्यालयमा राखेका छन् । विरामी भएकाले लिलाम नगरी राखिएको हो ।
‘एउटै बाख्रो लिएर आए, त्यो पनि विरामी छ, त्यसलाई देखेर एक छिन त सबै आश्चर्यमा परे’ कार्यालयका कर्मचारीले भने,‘यस अघि कहिलेसम्म बाख्रा आएको थिएन, पछि कागजपत्र बनाएर जिम्मा लियौ ।’
सशस्त्र प्रहरीले बाख्रो भारतबाट अवैध रुपमा आउन लागेको जानकारी दिएको छ । त्यो बाख्रासित अन्य बाख्रा भए नभएको केही खुलाएको छैन ।
गड्डाचौकीस्थित भन्सार कार्यालयका भन्सार अधिकृत तेज बहादुर रावलले भन्सार कार्यालयले बाख्रालाई लिलाम गर्ने बताए । ‘आज केही कारणले गर्न भएन, बाख्रो विरामी पनि रहेछ, ठिक भएपछि लिलाम गर्छौ’ उनले भने ।
गड्डाचौकी भन्सार सुरक्षाका लागि सशस्त्र प्रहरीका डिएपीको कमाण्डमा सशस्त्र प्रहरीलाई जिम्मा दिइएको छ । अहिले सशस्त्रको गड्डाचौकीका प्रमुख विदामा बसेका छन् ।
