महेन्द्रनगर । २०७८ कार्तिकमा दोधारा चाँदनी नगरपालिका १० कुतियाकवरका नयन सिंह सुनारले मध्यरात निन्द्रा खुलेपछि घरको खिड्कीबाट बाहिर हेरे । बाहिर बाढी घर नजिक पुगेको देखेपछि उनी आत्तिए । श्रीमति, केटाकेटी सबैलाई उठाए । अनि छर छिमेकमा फोन गर्न थाले । कतिपय छिमेकीले उनले भनेको कुरामा विश्वास नै गरेन । उनले फेरि आत्तिएर फोन गर्दा मात्रै छिमेकी बाढी आएको कुरामा विश्वस्त भए । त्यसपछि वस्तीका वासिन्दा घरबार छाडेर ज्यान जोगाउन सुरक्षित स्थानतिर निस्किए ।
मध्यरातको समयमा पशु चौपाया लैजान सकिएन । गोठभित्र किलोमा बाँधिएका चौपायालाई बाढीले आफूसंगै लग्यो । केही चौपाया किलोमै मरेको भेटिए । रातारात घर छाडेका वासिन्दाले सात दिनपछि मात्रै फर्किएर घरमा बस्न थाले ।
तीन महिना अघि सुनारले आफ्नै घरमा १२ वर्ष अघिको बाढीको कथा सुनाउँदा महाकाली नदीले उनी सहित दर्जन बढी वासिन्दाको खेतबारी कटान गरि सकेको थियो । जग्गा कटानी रोक्न स्थानीयले बनाएको जैविक तटबन्ध कटान रोक्न लगभग असमर्थ जस्तै देखिएको थियो ।
जैविक तटबन्धले पनि कटान नरोकिएपछि आत्तिएका सुनार बाढीले कटान गरी आफ्नो घर बगाउने चिन्तामा थिए । महाकाली र जोगबुढाले स्थानीयको जग्गा कटान गरी सुनारको घर नजिक पुगाई सकेको छ । ‘पहिला त धेरै टाढा थियो, अहिले त नजिकै आई सक्यो’ उनले भनेका थिए, ‘यस्तै रह्यो भने कुन दिन मेरो घरबार समेत जान्छ ।’
४९ घर परिवारको बसोबास भएको जोगबुढा नदी पारीको वस्ती बर्सेनी बाढीको त्रासमा बाँच्न बाध्य छन् । यस वर्ष मानवीय क्षति नभए पनि दर्जन बढी परिवारको खेतीयोग्य जमिन बाढीले कटान बगाई दिएको छ । स्थानीयले बाढीको डरले पशु पालन गर्न छाडेका छन् । बालबालिकाका लागि स्थापना गरिएको शिशु कक्षा बन्द हुन पुगेको छ । बाढीले बर्सेनी जमिन हुँदा वस्तीको नामोनिशान हराउने चिन्तामा वासिन्दा छन् ।
‘हामी त रात दिन डराई डराई बसि रहेका छौ, पानी परेपछि त निन्द्रा नै लाग्दैन’ स्थानीय सुनारले सुनाए, ‘बाढीले जमिन कटान रोक्न सकिएन भने कुन दिन वस्ती नै रहँदैन कि भन्ने चिन्ता पनि छ ।’
बाढीको त्रास सहेर बसेका वासिन्दाहरु वस्ती रहेसम्म बस्ती छाडेर अन्यत्र जान चाहँदैनन् । बस्ती छाडेर भारतीयले आफूहरु जमिन कब्जा गर्ने चिन्ता उनीहरुमा छ । कुतियावरसित भारत पिलभितको कुतियाकवर कलौनी पर्छ । यी दुबै वस्तीलाई दशगजाले छुटाएको छ ।
दुबै वस्तीका वासिन्दा एक अर्को वस्तीमा आउजाउ गर्दै आएका छन् । भारतीयले कुतियाकरमा जमिन भाडामा लिएर खेतीपाती गरेका छन् । नेपालीहरु मजदुरी सहित दैनिक उपभोग्यका समान किन्न भारतीय बजारमा जाने गर्छन् ।
‘यो वस्ती छाडेर हामी बाहिर निस्कने हो भने भारतले छाड्दैनौ, यही भूमिमा जन्म्यौ, हुक्र्यौ, त्यही भएर दुख सुख खाएर पनि छाडन चाहन्नौ’ स्थानीय सुनारले भने,‘हाम्रो भूमिमा अरु बसेको त सहन सकिदैन नि ।’
केही वर्ष अघिसम्म बालबालिका पढ्नका भारतीय वस्तीमा जाने गर्थे । अहिले पढ्न त्यहाँ पठाउने कार्य रोकिएको छ । खेतीपाती गरी जीविका चलाउँदै आएका स्थानीय महाकाली र जोगबुडाको कटानले बेघर हुने स्थितिमा छन् ।
दुई वर्ष अघि बाढीले बेघर भएका स्थानीय खडक बहादुर खत्रीले यस वर्ष कटानबाट सबैभन्दा बढी जग्गा गुमाउन पुगेका छन् । स्थानीयका अनुसार खत्रीको १० बढी जमिनमा कटान गरिएको छ । २०७८ मा बाढीले घर बगाएपछि उनी वस्तीको अर्को ठाउँमा बस्दै आएका छन् । जोगबुडा नदीमा आएको बाढीले उनको घर बगाएको थियो ।
२०७८ मा जोगबुडामा आएको बाढी वस्तीमा पसेर नोक्सान पुगाएको थियो । वस्तीमा बाढी पसेको समयमै थाहा पाएका उनीहरुले भागेर ज्यान जोगाएका थिए । अहिले पनि वस्तीका वासिन्दा २०७८ को बाढी झलझली सम्झन्छन् । अहिले महाकालीले कटान गर्दा स्थानीय वस्तीमा बाढी पस्ने त्रासमा छन् ।
दुई वर्ष अघि जोगबुडाको नदी वस्तीमा बस्दा सुनार आफैंले स्थानीयलाई खबर गरेका थिए । घरको छिड्कीबाट बाहिर हेर्दा बाढी पसेको देखेका थिए ।