
महेन्द्रनगर । जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा परेकाहरूको उद्धार कार्य करिब सकिएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईका अनुसार भूकम्पमा परेका मानिसहरूको उद्धारकार्य अपराह्नसम्म करिब सकिएको हो ।
‘अब केही घरहरू मात्रै बाँकी छन्, उद्धारकार्य करिब सकिएको छ’ उनले भने । एसएसपी भट्टराईका अनुसार मृत्यु हुनेको संख्या दुबै जिल्लामा गरी १३८ पुगेको छ । जाजरकोटमा मात्रै १०० जनाको मृत्यु भएको र रूकुम पश्चिममा ३८ जनाको मृत्यु भएको उनले बताएका छन् ।

रूकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले दुईचार घरमा उद्धार कार्य बाँकी रहेकाले मृतकको संख्या केही बढ्न सक्ने बताएका छन् । अहिलेसम्म मृत्यु भएका ३८ जनाको सनाखत भइसकेको पनि उनले बताए ।
दुबै जिल्लामा गम्भीर र सामान्य गरी कम्तिमा डेढ सय जना घाइते भएका छन् । तीमध्ये ३० देखि ३५ जना गम्भीर घाइते छन् । गम्भीर घाइतेमध्ये २७ जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । अन्यको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
सामान्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र केही घाइतेहरू सामान्य उपचारपछि डिस्चार्ज भइसकेको एसएसपी भट्टराईले जानकारी दिए ।
