महेन्द्रनगर । बैतडीको शिवनाथ गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूलाई राहतस्वरूप आर्थिक सहयोग गर्ने भएको छ। गाउँ कार्यपालिकाको बैठकले राहतस्वरुप १ लाख २५ हजार रुपैँया उपलब्ध गराउने निर्णय गरेको हो ।
राहतस्वरूप जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटलाई ७५ हजार र जिल्ला विपद् व्यवस्थापन समिति रुकुमपश्चिमलाई ५० हजार उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।
विपद्को घडीमा सबै मिलेर काम गर्नुपर्ने भएकाले गाउँपालिकाको तर्फबाट सहयोग गरिएको अध्यक्ष साउदको भनाइ छ। शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको छ ।