ghar sansar

पुनर्वासमा बाली बीमा प्रबद्र्धन र परिचालन सम्बन्धि कार्यक्रम

dirghayu ad

महेन्द्रनगर । पुुनर्वास नगरपालिकामा बाली बीमा सहज रुपमा प्रबद्र्धन र परिचालन गर्नका लागि कृषि बिकास शाखा, नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुर, नेपाल बीमा प्राधिकरण, बीमा कम्पनी र किसानहरु बीच संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाल सरकारले कृषि पशुपन्छी तथा जडीबुटी बीमामा शतप्रतिशत छुटको व्यवस्था गरेको छ। नेपालको कृषि क्षेत्रलाई व्यवसायिक बनाउन सरकारले कृषि बीमाको परिकल्पना गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा आर्थिक बर्ष २०७०÷७१ देखि कृषि बीमाको शुरुवात भएको हो । बीमा कम्पनी तथा कृषकलाई बीमामा आकर्षित गर्न सरकारले अनुदानको व्यवस्था गरेको हो ।

ratnam malkhad

कृषि तथा पशुपक्षि व्यवसायमा हुन सक्ने जोखिम र अनिश्चितता कम गर्न वा आर्थिक क्षति निराकरण गर्न बीमा आवश्यक रहेको नगर कृषि विकास शाखा प्रमुख कर्ण बहादुर शाही ले बताए । कृषकहरुलाई कृषि बीमा तर्फ आकर्षण गर्न, उत्पादनमा वृद्धि गर्न, आत्मानिर्भर बढाउन, बेरोजगारी घटाउन, व्यापार घाटा कम गर्न, खाद्य सुरक्षा हासिल गर्न कृषि बीमाको महत्वपूर्ण भूमिका बारे अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

बालीनालीमा लाग्ने किरा, अतिबृष्टि, खडेरी, बाढी, सलह, आदिको जोखिम तथा पशुहरुमा लाग्ने रोग, जगली जानवारबाट हुने क्षती आदिको जोखिम विरुद्ध गरिने बीमालाई बाली तथा पशु बीमा भनिन्छ । कृषि तथा पशुपालमा लागेका कृषक तथा व्यवसायीका लागि यो बीमा अतिनै उत्तम भएका हुनाले बाली तथा पशुपन्छी बीमा व्यववसायलाई प्रवद्र्धन गर्नको लागि बीमा अनिवार्य रहेको पुनर्वास नगरपालिकाकी नगर कृषि बिकास शाखा प्रमुख शाहीले बताए ।

पुनर्वासमा साउन अन्तिम साताको बाढीपछि दोदा नदी किनारमा पर्ने पुनर्वास–५ ,७ ,८ र ९ मध्ये ५ र ७ मा ठूलो मात्रामा धानबाली र उखुुबालीमा क्षति पुगेको छ ।। धान र उखु बाली नष्ट भएसँगै त्यहाँका किसान चिन्तित छन् । तर बिडम्बना उक्त क्षेत्रमा कुनै पनि किसानले बाली बिमा गरेका छैनन । बीमा कम्पनीहरुको नियामक बीमा समितिले २०६९ देखि कृषि बीमा सुरु गरे पनि धेरै किसानलाई कहाँ कसरी बाली तथा कृषि बीमा गरिन्छ भन्ने जानकारी नै नभएको बताए । बाली तथा पशुपन्छी बीमा बारे ज्ञान नहुदा आफुहरुले निकैनै दुुःख पाएको बताए ।

नेपाल कृषि प्रधान देश , कृषि प्रधान देश भएपनि पछिल्लो समयमा भनेजस्तो कृषि क्षेत्रको विकास भने हुन सकेको छैन । निकै अवसर र सम्भावनाका बिचमा पनि आज कृषि पेशा प्रति आकर्षण घट्नु भनेको कृषि लगानी सुरक्षित नहुनु नै हो । तसर्थ कृषि व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सरकारले कृषि बीमा सुरु गरेको छ ।

बाली तथा पशुपन्छी बीमा व्यवसायलाई प्रवद्र्धन गर्नको लागि बीमा समितिले मुलुकका ७७ जिल्लामा कम्तीमा १ बीमा कम्पनीको उपस्थिति अनिबार्य हुने गरी तोकेको नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेशका सहायक निर्देशक छबिलाल लामिछानेले जानकारी दिए ।

सहायक निर्देशक लामिछानेका अनुुसार सुदूरपश्चिम प्रदेशमा दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुरमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड. बझाङ्, डोटी, कैलालीमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड,र अछाम र बाजुुरामा यूनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड. लाई बाली तथा पशुपन्छी बीमा गर्ने जिम्मा दिइएको बताए ।

बाली तथा पशुुपन्छि बीमामा कृषि क्षेत्रलाई विस्तार एवम् प्रवद्र्धन गर्ने, कृषकहरुको काबु भन्दा बाहिरको परिस्थितीबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि बाली तथा पशुपन्छी बीमा कृषकहरुका लागि एकदमै लाभदायी रहेको वडाथ्यक्ष डम्मर थापा ले बताए । उनले गरी कृषकहरुलाई व्यवसायिक खेती तर्फ आकर्षित गर्न सहयोग गर्ने, कृषि क्षेत्रमा नीजि तथा सहकारी क्षेत्रको लगानी आकर्षित गर्ने, कृषि क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्ने, कृषि उत्पादनलाई वृद्धि गरी आयातलाई प्रतिस्थापन गर्ने प्रमुुख उदेश्यहरु रहेको बताए ।

नगर प्रमुख तोय प्रसाद शर्माले भने सरकारले न्यून बर्गीय कृषकले पनि बीमाको सुविधा लिन सकोस भनीे अनुदानको व्यवस्था गरेको हो । तर, लक्षित बर्गले यसको सुविधा लिन सकेको छैन ।उनका अनुसार कृषि बीमामा केन्द्रीय सरकारले ८० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । त्यस्तै, अहिले स्थानिय सरकारले २० प्रतिशतसम्म अनुदानको व्यवस्था गरेका छन् । दुवै सरकारले दिएको अनुदान पछि कृषकहरुले शत प्रतिशत छुटमा बीमा गर्न सक्ने उनले बताए ।

बाली तथा पशुपन्छी बीमा व्यवसायलाई प्रवर्द्धन गर्नको लागि बीमा गराउदा चाहिने क्षेत्रफलको मापदण्ड सरकारले तोकि दिएको छ । जस अन्तर्गत बीमाका लागि तराईमा कम्तीमा एक कट्ठा र पहाडमा कम्तीमा आठ आना अर्थात आधा रोपनी जग्गामा खेती गरेको हुनु पर्दछ । बाली तथा पशुुपन्छी बीमाले आगलागी, चट्याङ, भूकम्प, बाढी÷डुवान÷खडेरी, पहिरो÷भूस्खलन, आँधिबेहरी, असिना, हिऊँ वा तुसारो, आकस्मिक÷दुर्घटनाजन्य बाह्य कारणहरु, किरा तथा रोगबाट हुने हानी–नोक्सानीको जोखिम सुरक्षण गर्छ ।

बाली तथा पशुपक्षी बीमा अन्तर्गत कृषि बीमा भित्र अन्नबाली, दलहन, तेलहन, तरकारी, च्याउ, फलफूल, सुख्खा फल, कन्दमूल, चिनीजन्य बाली, पेय, मसाल, फूल, घाँसेबाली, किरा (वनस्पति वर्गमा राखिने किरा वर्ग), खाद्यन्न, अन्य वनस्पतिको बीमा गरिन्छ ।

पशुपन्छीमा गाईभैसी, भेडाब्राख्रा, घोडा वर्ग, सुँगुर वर्ग, घरपालुवा जनावर, पन्छी, माछा, किरा, अन्य पशुपन्छीको बीमा गरिन्छ भने जडिबुटी अन्र्तगत रुख वर्ग, झाडी वुट्यान वर्ग र झार वर्ग पर्छन् । कृषकले कुनै पनि शुल्क भुक्तानी नगरीकनै बीमा गर्न सक्ने व्यवस्था छ ।

तर यस बिषयमा लक्षित वर्गका कृषक भने बेखबर छन् । बीमा कम्पनीहरु बढी व्यवसायिक हुँदा लक्षित वर्गसम्म लक्षित कृषकसम्म बीमाको सुचना पुग्न सकेको छैन । फलस्वरुप टाठा बाठा ठूला कृषकले यसको फाईदा लिइ रहेका छन् तसर्थ बाली तथा पशुपन्छी बीमा व्यवसायलाई प्रवद्र्धन गर्न बीमा प्राधिकरण कम्पनीहरु र अन्य सरोकारवाला निकायहरुले ग्रामीण क्षेत्रका कृषकहरु सम्म बीमाको बिषयमा जनचेतना बढाउनु आवश्यक देखिएको सरोकारवालाहरु बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...