लालझाडी इन्जिनियर कुटपिट प्रकरण : छलफल गर्ने भन्दै प्रहरी चौकी बोलाएर ठेकेदार रानालाई पक्राउ, अनुसन्धान लागि म्याद थपियो
महेन्द्रनगर । लालझाडी गाउँपालिकाका इन्जिनियर राम प्रसाद अवस्थीमाथि कुटपिट गरेको आरोप लागेको ठेकेदार भीम सेन राना पक्राउ परेका छन् । लालझाडी गाउँपालिका २ कञ्जमा सडक निर्माण निरीक्षणका क्रममा आफूमाथि ठेकेदार रानाले कुटपिट र अभद्र व्यवहार गरेको भन्दै इन्जिनियर अवस्थीले प्रहरीमा अभद्र व्यवहारमा जाहेरी दिएका थिए ।
इन्जिनियर अवस्थीको जाहेरीपछि शुक्रबार रानालाई प्रहरीले छलफलका लागि बोलाएर पक्राउ गरिएको छ । रानालाई इलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखिएको छ । शुक्रबार पक्राउपछि अनुसन्धानका लागि म्याद थप गरिएको छ । रानाका आफन्तहरुका अनुसार लालझाडीको प्रहरी चौकीमा उनलाई छलफल गर्ने भन्दै बोलाइएको थियो ।
इन्जिनियर अवस्थीले ठेकेदार राना सहित चार जना विरुद्ध जाहेरी दिएका थिए । उनी बाहेक अन्य तीन जना पक्राउ गरिएको छैन ।
कन्दकला कन्स्ट्रक्सनका सञ्चालक रानाले इन्जिनियर अवस्थीले आफूलाई अनावश्यक दुःख दिएको र दुई लाख कमिसन मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनी विरुद्ध उजुरी दिएका छन् ।