

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर उप मेयरको सचिवालयले सुदूरपश्चिमाञ्चल स्तरीय पुरुष बास्केटबल ह्विभेयर प्रतियोगिता समापनमा भएको सवारी दुर्घटनाका घाइतेलाई अस्पताल लैजान मेयर उप मेयरसित गाडी सहयोग माग नगरिएको जनाएको छ ।
मेयर उप मेयरको सचिवालयले संयुक्त विज्ञप्ति निकाल्दै प्रतियोगिताका आयोजक, त्यहाँ उपस्थित व्यक्तिलाई हवाला दिँदै कार्यक्रमका अतिथि कैलालीका भवानी सिह ऐरले उनीहरुसित गाडी सहयोग माग नगरेको सार्वजनिक गरेको छ ।


कार्यक्रमका अतिथि ऐरका छोरालाई स्कुटरले किचेर टाउको चोट लागेपछि उनलाई अस्पताल लैजान मेयर उप मेयरले सहयोग नगरेको भन्दै उनीहरुको चौतर्फी आलोचना भएको छ । ऐरले सामाजिक सञ्जाल फेसबुकबाट मेयर उप मेयर दुबैलाई मानवता नभएका मान्छे भन्दै लेखेको स्टेटशका आधारमा विभिन्न अनलाइने समाचार प्रकाशन गरेका छन् ।
अपाङ्गता अधिकारकर्मीका रुपमा परिचित ऐर आफैै पनि पत्रकार हुन् । गोरखापत्र राष्ट्रिय दैनिकमा कार्यरत रहँदा उनी सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका भएका थिए ।


